चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ। नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र ४ महिनामा २ खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ। कात्तिक मसान्तसम्ममा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग १ खर्ब ३ अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा १ खर्ब २ अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ।
पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्ममा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै रू १५ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्यांकबाट देखिन्छ।
Shares

प्रतिक्रिया