राजनीति


ओली-मस्क संवादमा स्टारलिंक 'फ्याक्टर'

ओली-मस्क संवादमा स्टारलिंक 'फ्याक्टर'

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार २२:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यापारी इलोन मस्कबीच शुक्रबार साँझ भर्चुअल संवाद भएको छ।

संवादका क्रममा प्रधानमन्त्री ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गराउन सफल भएकामा मस्कलाई बधाई दिएका थिए। खुलेआम ट्रम्पका पक्षमा खुलेआम चुनावी अभियान चलाएका थिए।

ट्रम्पले आफू निर्वाचित भएलगत्तै मस्कलाई डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सीको प्रमुख नियुक्त गर्ने घोषणा पनि गरिसकेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, कुराकानीका क्रममा मस्कले आफ्नो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा स्टारलिंकका बारेमा जानकारी दिएका थिए।  

मस्कको कम्पनी स्टारलिंकले विश्वमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएको छ। नेपालमा पनि स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्न चाहिरहेको छ।

केही महिनाअघि मात्र स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टरसहितको टोली नेपाल आएको थियो। टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो।

सञ्चारमन्त्री गुरुङले अमेरिकी राजदूत र स्टारलिंककी निर्देशकले आफूसँग भदौमा भेटेर नेपालमा काम गर्ने चाहना राखेको सञ्चारमाध्यमहरुसँग बताइसकेका छन्। यसबारे छलफल गर्ने र निर्णयबारे अवगत गराउने मन्त्री गुरुङले बताएका छन्। सोही कारण आज प्रधानमन्त्री ओली र मस्कबीचको भर्चुअल संवादलाई अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री ओलीले मस्कबाट स्टारलिंकसम्बन्धी कुरा सुने पनि औपचारिक कुनै प्रतिक्रिया नजनाएको उनको सचिवालयले जनाएको छ।

मस्कको स्टारलिंक छिमेकी भारतमा समेत अनुमति पाउने चरणमा रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। इन्डिया टुडेका अनुसार भारतीय सुरक्षा प्रावधानहरु मान्न स्टारलिंक तयार भइसकेको छ। खासगरी सरकारी डेटा स्थानीयकरण र आवश्यक सुरक्षाका उपाय अपनाउन स्टारलिंक तयार भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad