चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा. आरजु राणाको १५ मंसिर (३० नोभेम्बर) मा भेटवार्ता तय भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बेइजिङ जान लागेकी मन्त्री राणाको त्यहाँ पुगेको भोलिपल्ट चिनियाँ समकक्षी वाङसँग भेटवार्ता हुन लागेको हो।
जानकारी अनुसार, मन्त्री राणा जापान हुँदै बेइजिङ जान लागेकी हुन्। उनको जापानयात्रा भने दुई पक्षीय नभई स्वास्थ्य उपचारका लागि हुन लागेको हो।
जापानका लागि उनी ११ मंसिर (२६ नोभेम्बर) मा काठमाडौँबाट प्रस्थान गर्नेछिन्। स्वास्थ्य परीक्षणका लागि त्यहाँ ३ दिन बिताएर उनी १४ मंसिरमा बेइजिङतर्फ लाग्नेछिन्।
परराष्ट्रमन्त्री राणाले गत भदौ पहिलो हप्ता भारत भ्रमण गरेकी थिइन्। संयोगवस त्यो भ्रमणपनि स्वास्थ्य परीक्षणकै सिलसिलामा भएको थियो।
बेइजिङ पुगेको भोलिपल्ट चिनियाँ समकक्षीसँग भेटवार्ता हुने भएपनि चिनियाँ प्रधानमन्त्री ली छियाङ र राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने–नहुने यकिन भएको छैन।
काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतावास र बेइजिङस्थित नेपाली राजदूतावासले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता गराउने प्रयास जारी राखेका छन्।
औपचारिक रुपमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति घोषणा भइनसकेपनि चिनियाँ पक्षले १७–२१ मंसिर (२–६ डिसेम्बर) का लागि प्रस्ताव गरेको छ।
तर, परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीको भ्रमण दलमा बेइजिङबाटै वा काठमाडौँ फर्केर सामेल हुनेछिन् भन्ने कुराको टुंगो भने लागिसकेको छैन।यही कारण मन्त्री राणाको बेइजिङबाट फर्कने मितिपनि तय गरिएको छैन।
चीनले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री ओलीको भ्रमण हुने भयो भने सम्भवतः मन्त्री राणा उतैबाट भ्रमण दलमा सामेल हुनेछिन्।
Shares

प्रतिक्रिया