हङकङ ट्वाइलेट एसोसिएसनले चुनवानको होइहिङ रोड सार्वजनिक शौचालयलाई सहरको उत्कृष्ट सार्वजनिक शौचालय घोषित गरेको छ।
विश्व शौचालय दिवस (नोभेम्बर १९) का अवसरमा एसोसिएसनले उक्त घोषणा गरेको हो। सहरको १८ जिल्लाका ३ सय सार्वजनिक शौचालयको मूल्यांकनका आधारमा उक्त घोषणा गरिएको संस्थाले जनाएको छ।
मूल्याङ्कनका आधार शौचालयको सहजता, पहुँच, सुरक्षा, सरसफाइ, व्यवस्थापन र शिक्षा लगायत थिए।
वाटरफ्रन्टमा अवस्थित होइहिङ रोड सार्वजनिक शौचालय गोलाकार डिजाइनमा बनाइएको छ। सबैतिर उज्यालो छिर्ने प्रबन्धसहित बनाइएको शौचालयमा पिउने पानीको सुविधा समेत राखिएको छ।

मूल्यांकनमा सन्नि बे सार्वजनिक शौचालय र ग्यास्कोइन रोड सार्वजनिक शौचालयले क्रमशः रजत र कांस्य पुरस्कार प्राप्त गरेका छन्।
अन्य ४ वटा शौचालयले उत्कृष्ट सूचीमा पर्न केही सुधार आवश्यक रहेको संस्थाले औँल्याएको छ। चुनवान मार्केट मार्केट (भुईँ तल्ला), युनलङ चिल्ड्रेन प्लेग्राउन्ड र ताइयुन गाउँका सार्वजनिक शौचालयले भत्किएका सुविधा र फोहोर स्टललाई सुधार गर्नुपर्ने औँल्याइएको हो।
यसअघि सन् २०२० मा पनि ताइयुन गाउँको शौचालयलाई सुधार गर्नुपर्ने सूचीमा राखिएको थियो।
त्यस्तै, ताइक्वुन सार्वजनिक शौचालयले यसको अस्पष्ट संकेतलाई सुधार गर्नुपर्ने देखिएको हो। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया