राजनीति


खुट्टा भाँच्ने भनाइमा मन्त्रीको प्रस्टीकरण- ठेकेदारलाई बचाउन दबाब दिएर काम गराउन खोजेको हो

खुट्टा भाँच्ने भनाइमा मन्त्रीको प्रस्टीकरण- ठेकेदारलाई बचाउन दबाब दिएर काम गराउन खोजेको हो

नेपालखबर
असार ४, २०८३ बिहिबार १७:५६, काठमाडौँ

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेकेदारलाई खुट्टा भाँच्ने धम्की दिएको विषयमा प्रतिनिधि सभामा प्रस्टीकरण दिएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा पूर्वाधार मन्त्रालयको विनियोजित बजेटमा सांसदले सोधेका प्रश्नको उत्तरमा उनले प्रस्टीकरण दिएका हुन्। प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रश्न गरेका थिए। उनले कुन कानुनका आधारमा ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएको भनेर प्रश्न गरेका थिए। 

गत जेठ ३१ गते नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनमा गएका मन्त्री लम्सालले का नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका थिए। सडक आयोजना निर्माणको क्रममा बिजुलीको पोल नसारिएकोले अवरोध भएको निर्माण पक्षले गुनासो गरेपछि मन्त्री लम्सालले बिजुलीको पोल सार्ने कन्ट्रयाक्टरलाई खोजेर ल्याउन भनेका थिए। 

‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्‍यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’ 

त्यही विषय संसद्मा उठेको हो। त्यस भनाइमा प्रस्टीकरण दिँदै मन्त्री लम्सालले भने, ‘ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो। इन्टेनसन त्यो होइन। इन्टेनसन नितान्त काम गरोस् भन्ने हो।’ 

काम नहुँदा ठेकेदार नै समस्या पर्ने गरेको उनले सुनाए। ‘काम गर्नुभएन भने ठेक्का रद्द गर्नुपर्छ। बैंक ग्यारेन्टी थुत्छ। जसरी पनि असुल उपर हुन्छ। त्यसपछि उहाँहरूको सात पुस्ते सकिन्छ। धितो नहुन सक्छ। त्यस्तोमा बैंकलाई गाह्रो पर्छ,’ लम्सालले भने। 

आफ्नो भनाइ काम गर्ने उद्देश्यसँग सम्बन्धित मात्रै भएको उनको जिकिर थियो। ‘हाम्रा लागि काम गर्ने कम्पनी कम हुन्छ। पाँच करोडको प्रोजेक्ट रद्द भयो सबै असुल उपुर गर्नुपर्छ। त्यसका कारण उठ्न असजिलो होला। त्यसैले बढी भन्दा बढी दबाब दिएर काम गराउन खोजेको हो। उद्देश्य त्यही हो,’ मन्त्री लम्सालले भने। 

ठेकेदारलाई बचाउने उद्देश्यले नै दबाब दिन खोजेको उनको दाबी थियो। कसैलाई दुःख दिन आफ्नो मनसाय नभएको उनको भनाइ थियो। ‘कसैलाई गाली गर्न मनै छैन। खुरुखुरु काम गरिदिए चुपचाप लागेर बस्छौँ। खुसी हुन्छौँ। आशय त्यो हो। उहाँहरुलाई बचाउन त्यो गरेको हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad