गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। गृहमन्त्री लेखकले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताए।
उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको जिकिर गरे।
‘उपनिर्वाचनको प्रक्रिया अघि बढेको छ। मैले सरकारको तर्फबाट र मेरो तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न हुन्छ। यसका लागि सुरक्षाका सबै आवश्यक प्रवन्धहरु मिलाइन्छन्। मैले उपनिर्वाचन केन्द्रित केन्द्रिय सुरक्षा समितिको बैठक पनि राखिसकेको छु। र, सबै सुरक्षा निकायहरूलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकिएको अवस्था छ। त्यसका लागि आवश्यक निर्णय भइसकेको छ,’ गृहमन्त्री लेखकले भने।
निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताए।
‘निर्वाचन आयोगसँग समन्वय गरेर निर्वाचन आयोगलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइनेछ। र, अत्यन्त निष्पक्ष, स्वतन्त्र ढंगदे निर्वाचन सम्पन्न गर्ने कुरामा हामी प्रतिवद्ध छौँ। निर्वाचन गर्ने निर्वाचन आयोगले हो। सरकारले निार्वच्न आयोगलाई सुरक्षालगायतका विषयमा सहयोग गर्नुपर्ने कुरामा हामी तयारी अवस्थामा छौँ। म यति आस्वस्त गर्न चाहन्छु,’ उनले भने।
Shares

प्रतिक्रिया