पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो।
‘उहाँ आज साढे ४ बजे डिस्चार्ज हुनुभयो,’ नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने।
९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो। शुक्रबार उनको डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाह लगायत अस्पताल पुगेका थिए।
मुमाबडामहारानी शाह भर्ना भएपछि पूर्वराजा शाह दैनिक अस्पताल पुग्ने गरेका थिए।
अस्पतालका अनुसार, अहिले उनको अवस्था सामान्य बनेको छ।
राजा महेन्द्रकी श्रीमती रत्न २०११ देखि २०२८ सालसम्म नेपाल अधिराज्यकी रानी थिइन्। २००७ सालमा इन्द्र राज्यलक्ष्मीको निधन भएपछि महेन्द्रले उनकै बहिनी रत्नसँग २ वर्षपछि विवाह गरेका थिए।
त्यतिखेर महेन्द्र युवराज नै थिए।
२०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि पूर्वराजा ज्ञानेन्द्र सपरिवार नागार्जुन बसाइँ सरेका सर्दा रत्नले भने नारायणहिटी राजदरबारभित्रकै महेन्द्र मञ्जिल त्याग्न अस्वीकार गरेकी थिइन्।
उनको बसोवास अहिलेसम्म महेन्द्र मञ्जिलमै छ।
Shares

प्रतिक्रिया