राजनीति


गगन थापाको आग्रह : धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि तत्काल अनुसन्धान होस्

गगन थापाको आग्रह : धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि तत्काल अनुसन्धान होस्

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १६:२, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरूमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो।

उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताए।

सोमवार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए।

उनले भने,‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन्। ती मान्छेमध्ये ५/६ सय मान्छे अभियोजनको क्रममा छन्। अरु ५/७ सय मान्छे फरार छन्। ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ। त्यो नयाँ होस् कि पुरानो होस कि। त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि रुखको छायामुनि बसिराखेको होस् कि। सबैलाई अनुसन्धानमा ल्याउ। छानबिन समितिमा बकाईदा त्यही भन्छ। त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस्। आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो।’

उनले थपे, ‘अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली कांग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो। थप अनुसन्धान गर्नुपर्छ। मत सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु–बकाईदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नुपनि पर्छ। नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो। गर्नुस् अनुसन्धान। अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस्। दण्ड पनि दिनुस्।’  

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिए। सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरूले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो।

थापाले अबको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताए।

उनले भने,‘मैले प्रधानमन्त्रीजीलाई पनि भनेको, मन्त्रीजीहरूलाई पनि भनेको हो–तपाईंहरुले केही समय बोल्न बन्द गरिदिनोस्। तपाईहरुले जवाफ फर्काउने होइन, तपाईको कामले बोलोस् न। तपाईंले गरेका निर्णयहरूले बोलुन् न। सरकारले गरेका कामहरुले एउटा कन्फिडेन्स देओस् न।’

महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिनेगरी काम हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad