राजनीति


खबरदारी सभामा प्रचण्डले देखाए ओलीका यी स्वभाव

‘सहकारी प्रकरणमा कसैलाई बचाउनु छैन’
खबरदारी सभामा प्रचण्डले देखाए ओलीका यी स्वभाव

माओवादीले अहिलेको सरकारलाई दलाल, पुँजीपति, विचौलिया र भ्रष्टहरूको प्रतिनिधिको रुपमा लिएको छ (तस्बिर : सरोज नेपाल)


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १८:१६, काठमाडौँ

संसदको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले शनिबार संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा आयोजित जुलुस कोणसभामा परिणत हुँदै सकिएको हो।

पार्टीको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा आयोजित जुलुस र सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले सरकार नसच्चिए आन्दोलनका अन्य विकल्प खोज्ने चेतावनी दिए।

नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सय दिनपछि माओवादी केन्द्रले राजधानीमा पहिलो पटक यस्तो सभा आयोजना गरेको हो। 

सभामा अध्यक्ष प्रचण्ड लगायतले जनताको पीडामा सरकारले काम गर्न नसकेको, भ्रष्ट र दलालहरूको संरक्षणमा सरकार लागेकोदेखि सहकारी प्रकरणमा सरकारको रवैया ठिक नभएको बताए। 

‘सहकारी प्रकरणमा कसैलाई बचाउन सभा गरिएको होइन’
खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैलाई बचाउने खेलमा आफ्नो पार्टी नरहेको जिकिर गरे। 

पछिल्लो समय सहकारी ठगी प्रकरणमा राजनीतिक पूर्वाग्रहका कारण प्रतिपक्षी नेता मात्रै गिरफ्तार गर्ने सरकारको शैली बेठिक रहेको उनले बताए। 

‘सोही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहीँ छानबिन गर्न नपर्ने। कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई केही गर्न नपर्ने,’ अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ, त्यो बेठिक छ।’

उनले आफ्नो पार्टीले गरेको विरोध र खबरदारी सभा कसैलाई जोगाउन नभएको पनि बताएका छन्। 

‘यत्रो विरोध र खबरदारी सभा कसैलाई बचाउनका लागि होइन,’ प्रचण्डले भने, ‘त्यस्तो आरोप लगाउनु माओवादी र प्रचण्डलाई बदनाम गर्नेबाहेक अर्को षड्यन्त्र केहीपनि होइन।’

‘सरकार ढाल्न खोजेको भ्रम नपाल्नू’
अध्यक्ष प्रचण्डले माओवादीले हतार हतार सरकार फेर्न खोजको भ्रम नपाल्न समेत सत्तारुढ कांग्रेस–एमालेलाई आग्रह गरे। 

‘माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने बुझ्नुभएको छ भने, तपाईंहरू आफैँ भ्रममा हुनुहुन्छ,’ प्रचण्डले भने, ‘त्यो भ्रम नपाल्नू। बरु, माओवादीलाई के चिन्ता भएको छ भने, तपाईंहरूजस्ता पार्टीहरू जो यो देशका दलाल, पुँजीपति र विचौलिया, भ्रष्टहरूकोे प्रतिनिधिको रुपमा रहनुभएको छ।’

‘पहिला सहकार्य गरेर गल्ती भयो, अब आउँदैनौँ’
यसअघि एमाले र कांग्रेससँग पटक पटक सत्ता सहकार्य गरेका पूर्वप्रधानमन्त्री प्रचण्डले त्यसलाई गम्भीर गल्तीको रुपमा अहिले आफूले बुझेको दाबी गरे। 

‘तपाईंहरूसँग समीकरण गरेर गल्ती गर्‍यौँ भन्ने परेको छ हामीलाई,’ प्रचण्डले भने, ‘तपाईंहरूको रोग हामीलाई पनि सर्‍यो कि भन्ने चिन्ता छ।’

प्रचण्डले अहिले आफ्नो पार्टी गम्भीर आत्मसमीक्षामा रहेको जिकिर गरे। ‘हामी गम्भीर आत्मसमीक्षामा छौँ। तपाईंहरू ढुक्क भए हुन्छ। हामी समीकरण गरौँ, मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौँ।’

माओवादी बिग्रिएर जनताबाट कट्न थालेको स्मरण गर्दै प्रचण्डले सम्बोधनको क्रममा अब जनताकै ढोकामा पुग्ने उद्घोष गरे। 

‘पार्टी केन्द्रमा गम्भीर आत्मसमीक्षा गरेका छौँ। भ्रष्ट पार्टी र नेताहरूसँग लागेर माओवादी पनि कता कता के हो के हो भन्ने जनतालाई परेको थियो,’ प्रचण्डले भने, ‘अब हामी जनतातिरै फर्केर आत्मालोचना गर्दै अघि बढ्छौँ।’

उनले माओवादी अब सच्चिन चाहेको कार्यकर्तामाझ सुनाएका छन्। 

‘बन्दुक बिसायौँ, तागत हराएको छैन’
खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री तथा माओवादीका केन्द्रीय सदस्य रामेश्वर राय यादवले माओवादीले बन्दुक बिसाएको भए पनि बुद्धि र तागत अझै तगडा रहेको तर्क गरे।

‘हिजो परिवर्तन ल्याउने माओवादीले लोकतान्त्रिक आचरण देखाएर बन्दुक मात्रै बिसाएको हो, बुद्धि बिसाएको छैन, पहुँच बिसाएको छैन, तागत बिसाएको छैन,’ उनले भने।

खबरदारी सभाको उपस्थितिले वर्तमान सरकारको कान खुल्ने विश्वास उनको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौँ भ्रष्टाचार गर्दा पनि छुट भएको आरोप पनि लगाए। 

‘यदी केपी ओलीको बुद्धि खुलेन भने जनताले अर्को विकल्प खोज्नेछन्,’ यादवले भने।

‘एसपीपी सम्झौताको जवाफ देऊ’
खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१९ मा केपी ओली प्रधानमन्त्री रहेको बेला नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) सम्झौता भएको प्रचार भइरहेको भन्दै त्यसबारे जवाफ दिन आग्रह गरे।

‘हिजोआज आउन थालेको छ, अमेरिकासँग सन् २०१९ मै अहिलेकै प्रधानमन्त्री प्रधानमन्त्री हुँदा एसपीपी सम्झौता भएको थियो’ श्रेष्ठले भने, ‘सरकारले जवाफ दिनुपर्‍यो त्यो भएको हो कि होइन? हामी कुनै पनि हालतमा एसपीपी सम्झौता हुन दिने छैनौं। यो देशका लागि घातक छ।’

सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पनि २०१९ मा अमेरिका भ्रमणमा गएका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एसपीपीमा सहभागी हुने सैद्दान्तिक सहमति गरेको चर्चा भएको उल्लेख गरे।

एसपीपी अमेरिकाले अघि सारेको सुरक्षा नीतिसँग जोडिएको कार्यक्रम हो। २०७९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएको थियो।

‘अभद्र भए सडकमै घिसारेर जवाफ माग्छौँ’
माओवादीले सुरुमा सरकारसँग भद्र प्रश्न गर्ने र नदिए सडकमै घिसार्नेसम्मको चेतावनी दिएको छ।

अध्यक्ष प्रचण्डले भने, ‘तिमीहरूलाई के लाग्छ? माओवादी मर्‍यो भन्ने लाग्छ? जे गरेपनि हुन्छ भन्ने लाग्यो? जवाफ दिनुपर्दैन भन्ने लाग्या छ? संसद्को रोष्ट्रममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ। धेरै अभद्र भयौ भने सडकमै घिसारेर, सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ।’

‘जनताको दुःखमा सरकार गम्भीर बनेन’
माओवादीले अघिल्लो महिना आएको बाढीका कारण ललितपुरको नख्खुमा एक परिवारले चार घण्टासम्म उद्धार नपाएको प्रसंगमा सरकार मरेको दाबी गरेको छ। 

‘काठमाडौँको मुटुमा टिनको छानोमाथि उभिएको एउटा परिवारले उद्धार पाएन। त्यहाँ केवल एउटा परिवारको ज्यान गएको होइन, त्यहाँ सरकार मरेको हो। मरेको सरकार हो,’ सम्बोधनको क्रममा प्रचण्डले भने। 

सरकारले सय दिनमा कुनै काम गर्न नसकेको प्रचण्डको दाबी थियो। 

‘यीनीहरूको सरकारले यो सय दिनमा ७० नम्बर ल्यायो रे। अहिले नै ७० भएपछि सरकारको सय नम्बर कस्तो होला सोच्नुभएको छ?,’ प्रचण्डले भने, ‘यो सय दिनमा प्रमाणित भइसकेको छ। बाढीपहिरोमा देखिँदैन सरकार, विपत्तिमा देखिँदैन सरकार।’  

‘अध्यादेश, कुलमान र उपसभामुखको पछाडि सरकार लाग्यो’
प्रचण्डले सरकार अध्यादेश ल्याएर दल विभाजन गर्न, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउन र उपसभामुख इन्दिरा राना मगरलाई हटाउन लागेको दाबी गरे।

‘कहाँ देखिन्छ सरकार?,’ प्रचण्डले भने, ‘दल विभाजन गर्न, कुलमान हटाउन, उपसभामुख हटाउन। त्यस्तो ठाउँमा देखिन्छ सरकार।’

‘ओलीको स्वभाव सुध्रिएन’
अध्यक्ष प्रचण्डले आफ्ना पूर्व सहयात्री समेत रहेका ओलीको स्वभावबारे खबरदारी सभामा चर्चा गरे। 

उनले प्रधानमन्त्रीको स्वभावबारे चर्चा गर्दै भने :
– अरुले गर्नुहुन्न भनेपछि नगरी नहुने।
– कहिँ न कहिँ भत्काउनैपर्ने, मिच्नैपर्ने। 
– शक्तिको दुरुपयोग गर्नेपर्ने।
– आत्मसमीक्षा नगर्ने, मेरो गल्ती छ भनेर कहिल्यै नभन्ने।
– अपराधलाई पनि उत्सवको रुपमा मनाउने।

‘सरकार काण्डमा मिल्यो, खोतलेन’
सरकारविरुद्धको प्रदर्शनमा आयोजित सभामा प्रचण्डले यसअघिका केही चर्चित काण्डहरूको पनि स्मरण गरे। 

‘कहाँ पुग्यो भुटानी शरणार्थी काण्ड?, बाँसबारी काण्ड, गिरिबन्धु टी स्टेटको कुरा? कहाँ पुग्यो बालमन्दिर काण्ड? यो काण्ड खोतल्न होइन, काण्ड मिलाउन आएको सरकार हो,’ उनले भने, ‘यो देश कांग्रेस र एमालेको बिर्ता होइन।’

संसद्को अंकगणितको बलमा जस्तोसुकै अपराध गर्दा पनि हुन्छ भन्ने नसोच्न उनले चेतावनी दिए। 

‘संख्याको बलमा जस्तोसुकै अपराध गरेहुन्छ भन्ने लागेको भए त्यो भन्दा माथि जनताको अदालत छ भन्ने बुझुन्। सबैभन्दा ठूलो अदालत जनताको हो भन्ने बुझुन्,’ प्रचण्डले भने।

‘रविलाई बचाउनैपर्छ भनेर ओली लागेका थिए’
प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बचाउनैपर्छ भनेर ओली लागेको दाबी गरे।

संसद्मा सहकारीबारे बहस चल्दैगर्दा आफू छानबिन समिति बनाउनुपर्छ भन्नेतिर रहेको भए पनि ओली भने बचाउनैपर्छ भनेर लागेको दाबी उनको भनाइ छ।

‘रवि लामिछानेसँग कुरा गर्दा पनि समिति बनाएर छानबिन गर्नु ठिक हो, तपाईं दोषी हो भने कारबाही भोग्न तयार हुनुपर्छ। दोषी होइन भने उन्मुक्ति पाउनुपर्छ भनेको थिएँ। त्यही अनुसार रविले पनि बनोस् भनेको हो। त्यतिबेला छानबिन समिति बन्न हुँदैन, रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओली हो। म प्रष्टसँग भन्न चाहन्छु,’ प्रचण्डले भने। 

तर, सरकारले फछिल्लो पटक लामिछानेलाई पक्राउ गर्दा अपनाएको रवैयाप्रति आफूहरूको आपत्ति रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad