राजनीति


रवि लामिछानेसँग समयमै बयान नलिएर हिरासतको बसाइ लम्ब्याउन खोजेको रास्वपाको आरोप

रवि लामिछानेसँग समयमै बयान नलिएर हिरासतको बसाइ लम्ब्याउन खोजेको रास्वपाको आरोप

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १०:४८, काठमाडौँ

रवि लामिछानेसँग समयमै बयान नलिएर सरकारले हिरासतको बसाइ लम्ब्याउन खोजेको आरोप रास्वपाले लगाएको छ। 

रास्वपाका वरिष्ठ उपाध्यक्ष तथा सांसद डा स्वर्णिम वाग्लेले यस्तो आरोप लगाएका हुन्। सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थपबारे बहस हुँदै छ। 

लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो बताएका हुन्। उनले अदालतको सम्मानमा आज पोखरामा हुने आन्दोलन शान्तिपूर्ण र सांकेतिक हुने पनि बताए।

वाग्लेले भने, ‘म्याद थपबारे बहस पनि हुँदै छ। त्यसको सम्मान गर्ने गरी कार्यक्रम गर्दै छौँ। हाम्रो कार्यक्रम हिजोअस्ति संयम र शान्तिपूर्ण नै थियो। तर, आज त्योभन्दा पनि पृथक र एकदम शान्तिपूर्ण हुन्छ। साथीहरुलाई आराम गर्न भनेका छौँ। महत्त्वपूर्ण पदाधिकारी र सांसदहरुको सांकेतिक प्रदर्शन हुन्छ। अन्य दलहरुको सकुर्लर छताछुल्ल भएका छन्। घुसपैठ गर्ने तयारी भएको छ।’ 

आजै सहकारी पीडितले पनि बिहान ११ बजे पोखराको मुस्ताङचोकमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। सो प्रदर्शनलाई नेपाली कांग्रेस–एमालेले पनि समर्थन जनाएपछि रास्वपाले दलबलसहित सडकमा नउत्रने र सांसद तथा केन्द्रीय नेताहरु मात्र विरोधमा सहभागी हुने जानकारी दिएको हो। 

वाग्लेले रविसँग बयान लिन आलटाल गरिएको र जबर्जस्ती म्याद थप गराएर थुनामै राख्ने प्रपञ्च भएको पनि जिकिर गरे। 

‘हाम्रा सभापतिको गिरफ्तारी राजनीतिक प्रतिशोध थियो भन्ने प्रमाणित भएको छ। १२५ घण्टा उहाँलाई हिरासतमा राखिएको रहेछ। त्यसमध्ये ४-५ घण्टा मात्र बयान लिएको रहेछ। के उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको हो? पक्राउ गरेपछि के सोध्ने भन्ने थाहा थिएन? यो राजनीतिक साँध्ने कार्य नै हो,’ उनले भने, ‘मानमर्दन गर्ने शैलीमा जसरी सरकार प्रस्तुत भएको छ, तेरो शेखी झार्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ, त्यो सभ्य भाषामा राजनीतिक प्रतिशोध नै हो।’

उनले जबर्जस्ती हस्तक्षेप गरेर, आलटाल गरेर,  समय पुगेन भनेर राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए। अहिलेको सरकारको ध्यान देशको समस्या समाधान गर्नेभन्दा पनि दलहरुलाई विभाजन गरी अझ कमजोर बनाउनेतर्फ रहेको तर्क उनले गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad