राजनीति


अमेरिकाले धार्मिक सञ्जाल खोलेको भन्दै विप्लव नेतृत्वको पार्टीले गर्‍यो विरोध

अमेरिकाले धार्मिक सञ्जाल खोलेको भन्दै विप्लव नेतृत्वको पार्टीले गर्‍यो विरोध

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १५:२१, काठमाडौँ

अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामको सञ्जाल बनाएर धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्न खोजेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध जनाएको छ। 

पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले एक विज्ञप्ति जारी गर्दै उक्त सञ्जालमार्फत अमेरिकाले संसारभरि नै धर्मको आवरणमा आफ्नो अभियान चलाउने नीति पास गरेको उल्लेख गरेका छन्। 

‘उक्त साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

‘अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पुरा गर्न अघि सारिएको धर्मराजनीति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउँछ।’

सो पार्टीले अमेरिकी भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी कदमको रुपमा यसलाई अर्थ लगाउँदै भनेको छ, ‘यसप्रति विश्वभरका स्वाधिनता प्रेमी जनताले तीव्र विरोध गररिहेका छन्। उक्त अमेरिकी नीतिले नेपालको स्वाधीनता, परम्परा, नेपालीजनका स्थानीय रितिरिवाज एवं संस्कारलाई तहसनहस पार्ने देखिन्छ। तसर्थ अमेरिकाको यस्तो हस्तक्षेपकारी नीतिको हाम्रो पार्टी कडा शब्दमा विरोध गर्दछ साथै यस्ता कुटिल चालबाट जनतालाई सचेत हुनका लागि विशेष अपिल गर्दछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad