औपचारिक स्पष्टीकरण पत्र प्राप्त हुनुअघि एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेले सार्वजनिकरूपमा सांकेतिक स्पष्टीकरण दिएकी छन्।
नख्खु जेल ब्रेकका एक अगुवा माधव पौडेलको भूमिगतकालीन जीवनमा घटेको घटना तथा नेकपाका पहिलो पुस्ताका नेता तुल्सीलाल अमात्यको उक्तिको सहारा लिँदै नेतृ पाण्डेले एमाले नेतृत्वलाई अप्रत्यक्ष रुपमा स्पष्टीकरण दिएकी हुन्।
विवादास्पद व्यापारी मीनबहादुर गुरुङले दानस्वरूप दिएको जग्गा तथा रकमबाट पार्टी केन्द्रीय कार्यालय बनाउने निर्णयको पाण्डेले आलोचना गरेकी थिइन्।
उनको आलोचनालाई केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले समेत साथ दिएकी छन्। पार्टी इतरपंक्तिबाट आलोचना भइरहेका बेला पाण्डे र तिम्सिनाले समेत आलोचना गरेपछि अप्ठेरोमा परेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय सचिवालयको बैठक बोलाएर दुवै जनासँग स्पष्टीकरण सोध्ने निर्णय गराएका छन्।
यो निर्णय सार्वजनिकलगत्तै पाण्डेले एमालेका पुराना नेता माधव पौडेलको दृष्टान्त र तुल्सीलाल अमात्यको उक्तिमार्फत् पार्टी सचिवालयलाई जवाफ दिएकी हुन्।
पाण्डेका भनाइमा, लामो समय भूमिगत जीवन बिताएका नेता माधव पौडेल एक दिन छ घण्टा हिँडेर ललितपुरको एउटा आश्रयस्थल पुगेका थिए। उनलाई असाध्यै धेरै भोक लागेको थियो। तर, पौडेल जुन आश्रयस्थल पुगे, त्यो परिवारमा खानेकुरा थिएन। आश्रयदाता परिवार फाँडो पकाएर खान ठिक्क परेको थियो। परिवार पाँचजनाको थियो। पौडेलसमेत मिसिएपछि त्यो फाँडो ६ जनालाई बाँड्नुपर्ने भयो। त्यसै गरी फाँडो बाँडी खाएर त्यो रात सबैजना सुते।
‘भोलिपल्ट बिहान जब उहाँ हिँड्न लाग्नुभएको थियो, ती साथी (आश्रयदाता) ले पार्टीका नाममा संकलन गरेको रकम लिएर जानोस् भन्नुभयो’ उनी लेख्छिन्, ‘उहाँले एउटा थैलोबाट एक, दुई, चार र पाँच पैसाका सिक्काहरू खन्याउनुभयो। गणना गर्दा एक सय तीन पैसा भयो। त्यो पैसा माधव कमरेडको हातमा राख्दै भन्नुभयो– कमरेडले पार्टीलाई सहयोग गर्नुपर्छ भन्नुभएपछि हामीले यो पैसा जम्मा गर्न थालेको हो। आज लिएर जानोस्।’
उनी थप लेख्छिन्, ‘त्यतिखेर त्यो पैसाले तीनचार माना पिठो आउन सक्थ्यो। जसको घरमा खाने अन्नको दाना छैन, त्यो परिवारले जम्मा गरेको पैसा कसरी लैजाने? माधव पौडेल अक्मकाउनुभयो। र भन्नुभयो- यसले खानेकुरा किनेर ल्याउनोस्। म पैसा लैजान्नँ।’
पौडेललाई त्यो परिवारका सदस्यले सामूहिकरूपमा दिएको जवाफ निकै मार्मिक थियो।
‘आज त मेला गएर ल्याइहालिन्छ नि, यो पार्टीको नाममा छुट्याएको पैसा हामी खर्च गदैनौँ,’ उनले लेखेकी छन्, ‘अन्त्यमा माधव पौडेल गह्रौँ मन गरेर १ सय ३ पैसा बोकेर निस्कनुभयो र अमृत वोहरालाई बुझाउनुभयो।’
त्यसबेला अमृत बोहोरा तत्कालीन नेकपा (माले) को मध्यउत्तर क्षेत्रीय कमिटीको प्रमुख रहेछन्। श्रमिक जनताको रगत र पसिनाबाट निर्माण भएको र जोगाइएको पार्टीलाई अहिले विवादास्पद व्यापारीहरूको स्वार्थसिद्धिको हतियार बनाइँदै छ भन्ने देखाउन पाण्डेले फेसबुक पेजमार्फत सेयर गरेकी हुन् भन्ने कुरा अक्टोबर क्रान्तिका नेता लेनिन र नेकपाको पहिलो पुस्ताका नेता तुल्सीलाल अमात्यको भनाइ उद्धृत गरेको प्रसंगले पुष्टि गर्छ।
स्मरणीय छ, तुल्सीलाल श्रेष्ठ नेकपाका पहिलो पुस्ताका नेता हुन्। उनी २०१९ मा दरभंगा प्लेनमबाट नेकपाको महासचिव चुनिएका थिए। अहिले एमाले केन्द्रीय कार्यालय रहेको च्यासलस्थित भवन उनकै स्मृतिमा स्थापना भएको भवन हो। त्यही भवनमा २४ असोजमा भएको केन्द्रीय सचिवालयको बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले विवादास्पद व्यापारी गुरुङले दान दिएको रकम र भवनमा पार्टी कार्यालय बनाउने निर्णय गरेका थिए।
नेतृद्वय पाण्डे र तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि ओलीले त्यही भवनमा डाकिएको सचिवालय बैठकबाटै गराएका हुन्। ‘यस कुराले लेनिनको एउटा भनाइलाई सम्झाउँछ’ उनी लेख्छिन्, ‘तुल्सीलाल अमात्यले आफ्नो पुस्तक बुद्ध, बुद्धत्व र बुद्ध दर्शनमा लेनिनको भनाइ उद्धृत गर्दै लेख्नुभएको छ– शोषक वर्गले दिएका लाख रुपैयाँले हामीलाई कमजोर बनाउँछ। तर, मेहनतकस जनताले दिएको एक–एक पैसाले हाम्रो शक्ति बढाउँदछ। नेकपा (माले) पार्टी मेहनतकस जनताको त्यही शक्तिमा बनेको थियो।’
‘(तर)श्रमजीवी कहाँ छन्? पार्टीको गणनामा पर्न छाडेका छन्,’ पाण्डेको बुझाइ छ, ‘अहिले पार्टीलाई आवश्यकता पर्दा लाखौँ होइन, करोडौँ बोकेर आउनेहरू भेटिन थालेका छन्।’
‘लाख दिनेले करोडको अपेक्षा राखेको हुन्छ,’ उनी थप्छिन्, ‘जसले करोड दिन्छ, उसले अरब फिर्ता गर्ने सोच राखेकै हुन्छ।’
भूमिगतकालीन दिनमा पैसा–पैसा जम्मा गरी रुपैयाँ बनाएर पार्टीलाई सहयोग गर्ने श्रमिक वर्गले सुशासनको अपेक्षा गरेको बताउँदै पाण्डेले नागरिकहरूको अपेक्षा सम्मानपूर्वक श्रम गरी खान पाउने, हरेक सन्तानले असल शिक्षा र बिरामी हुँदा सहज उपचारको अपेक्षा गरेको पनि उल्लेख गरेकी छन्।
‘त्यो हामीले कति पूरा गर्न सक्यौँ, कति प्रयत्न गर्यौँ?’ उनको प्रश्न छ।
Shares

प्रतिक्रिया