राजनीति


एमालेलाई पार्टी नेतृको जवाफ : एक्लै भए पनि सत्यको पक्षमा उभिन्छौँ

एमालेलाई पार्टी नेतृको जवाफ : एक्लै भए पनि सत्यको पक्षमा उभिन्छौँ

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार २१:४२, काठमाडौँ

गौतम बुद्धलाई उद्धृत गर्दै एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले आइतबार साँझ फेसबुकमा लेखिन्, ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्छ।’

बुद्धको यस भनाइका साथ तिम्सिनाले सो पोस्टमा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेसँगै मुस्काराइरहेको फोटो पनि राखेकी छन्। 

आइतबार अपरान्ह बसेको एमाले केन्द्रीय सचिवालयको बैठकलगत्तैको उनको यस फेसबुक टिप्पणीले संकेत गरेको छ, विवादित व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन दिने करोडौँको जग्गामा एमाले नेतृत्व झुके पनि उनीहरू झुक्ने छैनन्। 

व्यापारी गुरुङले दिने जग्गामा उनैले आर्थिक लगानी गरेर पार्टी कार्यालय बनाइदिने निर्णयको पाण्डेले विरोध गरेकी थिइन्। पार्टी कार्यालय निर्माणका सन्दर्भमा समान धारणा राख्दै केन्द्रीय सदस्य तिम्सिना पनि पाण्डेको पक्षमा उभिएकी थिइन्। 

‘समय घर्किएको छैन, हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ, त्यतिमै आफ्नै पसिनाले सिँचिएको भवन प्यारो र गर्विलो हुनेछ,’ गत सोमबार तिम्सिनाले लेखेकी थिइन्, ‘म नेतृत्वसमक्ष यही फेसबुकमार्फत निवेदन गर्न चाहन्छु, यो निर्णय फिर्ता लिइयोस्।’

व्यापारी गुरुङको दानप्रति हर्षाेल्लास गर्ने एमाले नेतृत्वसमक्ष उनले यो पनि आग्रह गरेकी थिइन्, ‘हामीलाई बाँचुन्जेल एमाले भएर स्वाभिमानका साथ उभिने भूमि बाँकी राखिदिनुहोस्।’

यस्तो आग्रहका साथ तिम्सिनानाले एमाले नेतृ पाण्डेले त्यसअघि फेसबुकमा सार्वजनिक गरेको धारणा सेयर गरेकी थिइन्।

‘व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो,’ पाण्डेले लेखेकी थिइन्, ‘तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो।’ 

‘दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला तर स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारी समेत नहुने गरी गरेको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ।’ 

पाण्डेले पनि यो निर्णय सच्याउन पार्टी नेतृत्वसँग आग्रह गरेकी थिइन्।

‘समय घर्किसकेको छैन, मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ, समयमै सोचौँ।’ 

गुरूङले दानस्वरुप दिने घरजग्गा एमालेका साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम भएको उनको टिप्पणी थियो। 

भ्याट छली र ललिता निवास जग्गा प्रकरणमा अदालतले दोषी ठहर गरेका गुरूङले दिएको जग्गा र उनकै लगानीमा पार्टी कार्यालय बनाउने निर्णयको सर्वत्र आलोचना भइरहेका बेला नेतृद्वय पाण्डे र तिम्सिना मिल्सेनाले पनि आलोचना गरेपछि एमाले नेतृत्व अझ अप्ठेरोमा परेको थियो। 

यसै प्रसंगमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय सचिवालयको बैठक बोलाएर सो निर्णयलाई ‘एकमत’ ले निर्णय मात्र होइन, पाण्डे र तिमिल्सेनासँग स्पष्टीकरण सोध्ने निर्णय पनि गरे।

सो निर्णय आएलगत्तै पाण्डेसँगको तस्बिर सार्वजनिक गर्दै तिम्सिनाले बुद्धको भनाइको सहारा लिँदै सत्यको पक्षमा एक्लै भए पनि उभिने प्रतीज्ञा गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad