राजनीति


प्रधानमन्त्री ओली र चिनियाँ नेताबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ नेताबीच बालुवाटारमा भेटवार्ता

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ११:२९, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यसक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएका चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपालले चीनको विकासबाट लाभ लिन चाहेको बताए। 

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे। 

ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेका चर्चा गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको बताए। 

चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने बताए। उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने जानकारी दिए। 

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा.अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad