राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कास्कीबाटै सहकारी पीडितको आन्दोलन सुरु भएको घोषणा गरेका छन्।
शनिबार पोखरामा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
दुई तिहाइको सरकार आफूहरूसँग डराएको प्रसंग झिक्दै सांसद श्रेष्ठले सहकारीको अपचलन भएको १ खर्ब ७५ अर्ब रुपैयाँको पाइपाइ हिसाब माग्ने दाबी गरे।
‘अब १ खर्ब ७५ अर्ब रुपैयाँको सहकारीको ऋण अपचलनको हिसाब हामीले पाइपाइ माग्ने कि नमाग्ने? अब कास्कीबाटै सहकारी पीडितको आन्दोलन सुरु भयो भनेर हामी घोषणा गर्छौं। एक एक पैसाको हिसाब लिन्छौ, अब हामी,’ सांसद श्रेष्ठले भने।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न देखिएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेका समर्थकहरूले विभिन्न नारासहित पोखरा, काठमाडौँ, वीरगञ्ज लगायतका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।
शुक्रबार नै स्थलमार्गबाट पोखरा पुर्याइएका लामिछानेलाई मेडिकल जाँचपछि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ।
उनीविरुद्ध संगठित अपराधको मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रहरीका अनुसार शनिबार अदालत बन्द भएकाले उनलाई आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार रविलाई पक्राउ गरेको थियो।
Shares

प्रतिक्रिया