राजनीति


सरकारलाई वर्षमानको प्रश्न- रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट?

सरकारलाई वर्षमानको प्रश्न- रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट?

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १४:५९, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन्।

पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए। 

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए। राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो।

‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ , धनराजलाई पनि त्यही होस्। प्रधानमन्त्रीको पार्टीका सांसद् पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ। उहाँहरू सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले  पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ।’

पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे।

‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलो चाँडो दिनैपर्छ।’ 
जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानुनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो।

उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे। लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोश्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले भने।

‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन। उसले आफ्नो कुरा भन्न पाउँछ। अनुसन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ त्यो स्थापित हुन्छ त्यो समाजले मान्नुपर्छ। कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन’, पुनले भने, ‘रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो। त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो। फेरि नागरिकता प्रकरणमा सांसद पद गयो। फेरि दोस्रोपटक चुनावमा जाँदा भारी मतले जित्नुभयो। जनताले उहाँलाई अनुमोदन गरेर पठाए। त्यसैले रविजीले अनुसन्धानाई सहयोग गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad