अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बैठकले आवश्यक कदम चाल्नेबारे निर्णय गर्ने बताए।
‘सबै राजनीतिक दलसँग एक दुई दिनमै बैठक बस्ने तयारी छ,’ मन्त्री खतिवडाले भने।
उनले बजारमा अहिले नै अत्यावश्यक सामग्रीको अभाव नहुने पनि जानकारी दिए।
औषधिजन्य वस्तुमा भारतले लगाएको निर्यात प्रतिबन्धको सन्दर्भमा भान्सारविन्दुमा आएका वस्तुहरु पहिले छुटाउने र कूटनीतिक तवरबाट वार्ता गरेर अभावन हुन नदिने उनले बताए।
‘औषधि ५ महिनालाई पुग्ने छ। पेट्रोलियम पदार्थ तीन महिनाका लागि मौज्दात छ,’ उनले भने, ‘त्यसैले आत्तिनपर्ने अवस्था छैन।’
‘औषधिजन्य वस्तुबाहेक दक्षिणबाट आउने व्यापारमा केही समस्या छैन,’ मन्त्री खतिवडाले भने, ‘चीनतर्फ संक्रमण घट्दै गएकाले रसुवागढी र तातोपानी नाकामा रोकिएका वस्तु सुरक्षित भए त्यस्तो व्यापारलाई सहज गर्दै लैजाने सुझाव आयो। त्यसलाई सरकारका विभिन्न मन्त्रालयसँग बसेर अघि बढ्छौं।’
खाद्यान्न पनि चार महिनाका लागि पुग्नेगरी मौज्दात रहेको उनको भनाइ छ।
मास्क लगायतका सामग्री उत्पादन बढाइने उनले बताए। उनले अनावश्यक सामग्री किनेर सञ्चय नगर्न पनि आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया