ad ad

राजनीति


सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजबिन गर्न संसदीय समितिको निर्देशन

सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजबिन गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार २०:३४, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपालबाट बित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका २७ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो।

बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, बित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुत तथ्य तथ्यांकमा छलफल र प्रस्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए।

उनले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हासिल भयो भनेर जानकारी लिएको बताए।

उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोशिस गरेको जानकारी पाएको पनि बताए।

सभापति थापाले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषय भन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको जनाए।

विदेश फरार हुनेमा २५ जना रहेकोमा आज पुनः दुई जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको थापाले जानकारी दिए।

उनले भने, ‘२५ जनामध्ये आज फेरि थप दुई जना सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापासहित थप गरेर पत्राचार गरेका छौँ। खोजबिन गर्न निर्देशन दिएका छौँ। अन्मितसम्म कोशिस गर्न निर्देशन दिएका छौँ। नेपालबाट बित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग जस्ता कामहरु गर्ने र विदेशमा गएर सुरक्षित हुने खालको जुन प्रवृत्ति बढिरहेको छ, यसकाप्रति समितिमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।’

समितिको प्रतिवेदनको कामलाई अन्तिम रुप दिन शनिबार पुनः बैठक बस्ने पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .