ad ad

राजनीति


उपसभामुख रानाले सोधिन् हस्ताक्षर अभियानबारे, ओलीले भने– बाहिरको कुरा बाहिरै राखौँ

उपसभामुख रानाले सोधिन् हस्ताक्षर अभियानबारे, ओलीले भने– बाहिरको कुरा बाहिरै राखौँ

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार २०:५९, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले आफूलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेकी छन्। 

संवैधानिक परिषद्को बैठकका लागि बालुवाटार पुगेकी उपसभामुख रानाले अमेरिकी दूतावासमा लेखेको पत्रमा आफ्नो बदनियत नरहेको र सबै स्पष्ट पनि भइसकेको अवस्थामा किन हस्ताक्षर अभियान चलाएको भनेर प्रश्न गरेकी थिइन्। साथै, सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नाविरुद्ध हस्ताक्षर अभियान चलाएकोमा दुःख व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले भने यस विषयमा स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘तपाईं अहिले संवैधानिक परिषद्को बैठकमा हुनुहुन्छ। यस परिषद्को तपाईँ ‘डिग्निफाइड मेम्बर’ (सम्मानित सदस्य) हो। बाहिरका कुरा बाहिरै राखौँ।’

त्यसपछि विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रानाको पक्षमा बोलेका थिए।

हस्ताक्षर अभियान नै चलाएपछि उहाँ (उपसभामुख)लाई असहज भएको भन्दै प्रचण्डले यसबारे स्पष्ट पारिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।

प्रधानमन्त्रीले यसबारे थप कुरा गर्न उपयुक्त नहुने भनेपछि यो प्रसंग त्यहीँ रोकिएको थियो।

उपसभामुख रानाले नेपालखबरसँग भनिन्, ‘मैले मेरो कुरा राखेँ। यो विषयमा आज थप छलफल नगरौँ भनेपछि त्यसै रोकियो।’

सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयास गरेका छन्। खासगरी कांग्रेस र एमालेले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी अघि बढाएका छन्। यसका लागि हस्ताक्षर संकलनको काम पनि भइरहेको छ। 

यस्तै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरूले राजीनामा दिनुपर्ने आवाज उठाएका थिए। तर, माओवादी, रास्वपालगायत दलले रानाको बचाउ गरिहेका छन्।

उपसभामुख हटाउन प्रतिनिधि सभामा दुई तिहाइ बहुमत आवश्यक हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .