ad ad

राजनीति


सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

नेपालखबर
भदौ २६, २०८१ बुधबार १९:२७, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन्।

राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।

श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख गर्दै राउतले मुद्दा हालेको अदालतका एक अधिकारीले नेपालखबरलाई बताए।

प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा 'अंश सम्बन्ध विच्छेद' शीर्षक उल्लेख गरेका छन्। यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ। 

‘उहाँले श्रीमतीसँग अंश सम्बन्ध विच्छेद गराउन मुद्दा दायर गर्नुभएको छ,’ जिल्ला अदालतका एक अधिकारीले नेपालखबरसँग भने, ‘श्रीमती सोनी सिन्धु रानीका व्यवहारले टर्चर भएको कुरा उल्लेख गर्नुभएको छ।’

आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन्।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो। पार्टी गठन गरेको एक वर्षमै जनमत राष्ट्रिय दल बन्न सफल भएको थियो।

मधेस प्रदेशको सप्तरी जिल्लामा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

पछिल्लो समय उनको लगाव अध्यात्म, योग तथा ध्यानतिर देखिएको छ। उनले ‘वैरागदेखि बचावसम्म’ पुस्तक पनि लेखेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .