ad ad

राजनीति


कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी हुन्, सबैकुरा मिल्छन् भन्ने छैन : गगन थापा

कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी हुन्, सबैकुरा मिल्छन् भन्ने छैन : गगन थापा

नेपालखबर
भदौ २६, २०८१ बुधबार ११:३९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले प्रतिस्पर्धी पार्टी भएकाले सबै विषयमा कुरा मिल्ने भन्ने नरहेको बताएका छन्। 

यी दुई पार्टीबीच भएको सात बुँदे समझदारी नै अहिलेको गठबन्धनको मुख्य आधार रहेको महामन्त्री थापाको भनाइ छ।

‘आफ्ना आफ्ना पार्टीका दस्तावेजहरू छन्। हाम्रा घोषणापत्रहरू छन्। हामी भिन्नभिन्न पार्टी हो। हामी लामो समय प्रतिस्पर्धा गर्दै आएको पार्टी हो। भोलि प्रतिस्पर्धा गर्ने पार्टी पनि हो। हाम्रो बीचमा सबैकुरा मिल्छन् भन्ने पनि छैन,’ उनले भने।

साथै, महामन्त्री थापाले जनतालाई परिवर्तनको आभास हुनेगरी डेलिभरी दिन ढिला भइसकेको भन्दै लम्बेतान र असम्भव कुरा गरेर बस्न नहुने जिकिर गरे।

संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन गर्नेकुरा सरकारको न्युनतम साझा कार्यक्रमको प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ। 

साथै, उनले सरकारको न्युनतम सझा कार्यक्रम कुन तहसम्म जाने? न्युनतम साझा कार्यक्रमलाई कति न्युनतम बनाउने? कति अधिकतम बनाउने? कस्तो बनाउने? कुनकुन कुरा राख्ने? लगायतका विषय टुंगो लगाउनुपर्ने बताए। 

‘जनताको मनमा परिवर्तन आयो भन्ने आभास हुनेगरी केही डेलिभरी गर्नुपर्नेछ। लम्बेतान, असम्भव कुराहरू गर्नु हुँदैन,’ महामन्त्री थापाले भने, ‘सरकारलाई स्मार्ट बनाउने गरी कार्यक्रम ल्याउनेछौँ। न्युनतम कार्यक्रमअनुसार सरकार चल्नेगरी हामीले कार्यक्रम बनाउनेछौँ। चुस्त, सानो र बाँध्ने गरी बनाऔँ।’

सरकार गठन भएकै केही दिन भइसकेकाले अब लामो समय नलगाउने महामन्त्री थापाले स्पष्ट पारे। 

‘अर्थतन्त्र जुन खालको संकटबाट गुज्रिरहेको छ, श्रोत र साधनको जुन सिमितता र दबाब छ, तर केही कुराहरु परिवर्तन हुन थाल्यो भन्नेकुराको आभाष नागरिकलाई दिन नसक्ने हो भने यो छटपटि झनै बढ्दै जाने स्थिति छ,’ महामन्त्री थापाले भने। 

संविधान, कानुन, अवस्थाको श्रोत, साधन समयको सीमा सबैकुरालाई बुझेर न्युनतम के गर्न सकिन्छ? भन्नेबारेमा एउटा साझा धारणा बनाइ छिट्टै सार्वजनिक गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .