ad ad

राजनीति


राजदूत नियुक्ति विवाद: संसदीय सुनुवाइ समितिले आज परराष्ट्रमन्त्री राणासँग छलफल गर्ने

राजदूत नियुक्ति विवाद: संसदीय सुनुवाइ समितिले आज परराष्ट्रमन्त्री राणासँग छलफल गर्ने

नेपालखबर
भदौ २४, २०८१ सोमबार ९:५१, काठमाडौँ

संसदीय सुनुवाइ समितिले आज परराष्ट्रमन्त्रीसँग छलफल गर्दैछ। राजदूत सिफारिस समावेशी नभएकाे विषयमा समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्न लागेको हो। 

राज्य व्यवस्था समितिको हलमा बिहान ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री डा. आरजू राणासँग छलफल हुने समितिका सभापति ईश्वरीदेवी न्यौपानेले नेपालखबरलाई जानकारी दिइन्। 

यसअघि पनि समितिले राजदूत सिफारिस समावेशी नभएको भन्दै मन्त्रीलाई बोलाएर छलफल गरेको थियो। त्यसबेला परराष्ट्र मन्त्री एनपी साउदले आगामी दिनमा राजदूत सिफारिस गर्दा यस विषयमा सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका थिए। तर यसपटक पनि राजदूत सिफारिस समावेशी हुन नसकेको भन्दै समितिमा उजरी परेको छ। 

समिति सभापति न्यौपानेले भनिन्, ‘यसअघि पनि हामीले यस विषयमा मन्त्रीलाई बोलाएर छलफल गरेका थियौं। यसपटक महिला, जनजातिको प्रतिनिधित्व भएपनि अन्य समुदायको प्रतिनिधित्व हुन सकेन, त्यसै बारेमा आज मन्त्रीसँग छलफल गर्दैछौं।’  
 
समिति सदस्य ईश्वरी घर्तीकाअनुसार राजदूत सिफारिस किन समावेशी भएन, यस्ता खालका त्रुटी किन हरेकपटक भइरहन्छन् र आगामी दिनमा यसलाई कसरी सच्याउने जस्ता विषयमा समितिले आज मन्त्रीसँग छलफल गर्न लागेको हो।

संसदीय सुनुवाइ समितिले साउन १६ गतेदेखि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिरहेको छ। १७ मध्ये १३ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकिइसकेको छ भने ४ देशका लागि प्रस्तावित राजदूतको सुनुबाइ बाँकी छ। 

अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी, बेलायतका लागि प्रस्तावित चन्द्र कुमार घिमिरे, स्पेनका लागि प्रस्तावित सनिल नेपाल र श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको सुनुवाइ हुन बाँकी छ।   

समितिले बाँकी ४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ २७ गते गर्ने र त्यसपछि सुनुवाइ सकिएका सबै (१७) राजदूतबारे समितिमा छलफल गरेर निर्णय सुनाइने सभापति न्यौपानले जानकारी दिइन्।  

सरकारले गएको साउन १४ गते विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। जसमध्ये १७ राजदूतको नाम सुनुवाइका लागि संसदीय समितिमा पुगेको हो। समितिमा आएका ९ उजुरीमध्ये ३ वटा उजुरीमा राजदूत सिफारिस समावेशी नभएको भन्दै मन्त्रीपरिषद्को निर्णयमाथी प्रश्न गरिएको छ।

यही भदौ १८ गते बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले राजदूत नियुक्ति समावेसी नभएको भन्दै आलोचना गरेपछि परराष्ट्रमन्त्री राणाले गल्ती भएको भन्दै माफी मागेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .