भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेल्जियम भ्रमण रद्द भएको छ।
कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएपछि प्रधानमन्त्री मोदीले आफ्नो भ्रमण रद्द गरेका हुन्। मोदी मार्च १४–१५ मा बेल्जियम जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको हो।
उनी युरोपियन युनियनको सम्मलनमा भाग लिन त्यसतर्फ जान लागेका थिए। मार्च १३ का लागि तोकिएको यो सम्मेलन पनि स्थगित गरिएको छ भने नयाँ मिति घोषणा गरिएको छैन।
विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार प्रधानमन्त्री मोदीको निर्धारित भ्रमणको कार्यतालिका हालका लागि स्थगित गरिएको बताए। उनले बंगला देशको भ्रमण पनि रोकिनसक्न सम्भावना रहेको बताए।
पछिल्लो समय भारत र बेल्जियममा कोराना भाइरस संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ। बुधबारमात्रै बेल्जियममा कोरोनाका १० नयाँ बिरामी थपिएका छन्। योसँगै बेल्जियममा संक्रमितको संख्या २३ पुगेको छ भने बिहीबार दिउँसोसम्म भारतमा संक्रिमितको संख्या ३० पुगेको छ।
दिल्लीका विद्यालय एक महिनाका लागि बन्द
कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि दिल्लीका प्राथमिक विद्यालयहरु एक महिनाका लागि बन्द गरिएको छ।
दिल्ली सरकारका शिक्षामन्त्री मनिष सिसोदयाले कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए। उनले यसमा सरकारी, सामुदायक र निजी सबै विद्यालय पर्ने बताएका छन्।
उनले परीक्षा सञ्चालन भइरहेका विद्यालयहरुलाई पनि सतर्कता अपनाउन निर्देशन दिएका छन्।
Shares

प्रतिक्रिया