अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले अर्थ मन्त्रालय सम्हालेयता दुई वर्षमा सेयरबजारमा धेरै सुधार आएको बताएका छन्। बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको पुँजीबजारले तपाईंलाई नरुचाएको हो भन्ने प्रश्नको जवाफमा उनले सुधारको दाबी गरेका हुन्।
हाल सञ्चारमन्त्री समेत रहेका खतिवडाले पुँजीबजारमा ठूलो नीतिगत सुधार भएको दाबी गरे। उनले भने, ‘अहिलेसम्मको पुँजीबजार हेर्दा विगत २ वर्षमा धेरै सुधार भएको छ। अर्थमन्त्रीको काम लगानी कर्तालाई अवसरसम्म पुर्याउने हो बाँकी उसको जिम्मा । लगानीकर्ताले कम्पनी वासलात, नाफा नोक्सान हेरेर गर्नुपर्छ । नीतिगत समस्या देखिएका छन् भनेर बसेर छलफल गर्न सकिन्छ ।’
अर्थमन्त्री खतिवडाले व्यक्तिको अनुहारभन्दा पनि कम्पनीको वासलात हेरेर लगानी गर्न सुझाव दिए।
मास्कको आपूर्ति र उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्यको तयारी
यसैबीच, सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ। नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुँनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको हो।
खतिवडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताए। उनले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडि बढिरहेको उल्लेख गरे। कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उनको भनाइ छ। लगानीका अवशर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उनले बताए।
३ वटा समिति गठन
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वस्थ्य मन्त्रालयले छुट्टाछुट्टै तीन वटा समितिहरु गठन गरेर कोरोना भइरसका भित्रिन नदिने गरी काम भइरहेको बताए। मन्त्रीको संयोजकत्वमा, सचिवको संयोजत्वमा र सम्बन्धित महाशाखा समितिको संयोजकत्वमा प्राविधिक कमिटी गठन गरी काम भइरहेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर काम भइरहेको उनले बताए।
विमानस्थलमा संस्कास्पद देखिएका व्यक्तिहरुलाई तुरुन्त उपचारका लागि पठाउने गरिएको उनले बताए। एक सिफ्टमा ७ जनासम्म चिकित्सकसहितको टोली र रातिको सिफ्टमा ४ जनाको टोली विमानस्थलको हेल्थ डेस्कमा खटाइएको उनले बताए। सातवटै प्रदेशमा सरकारले टोलीहरु पठाएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले नेपाल भारतका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी भइरहेको बताए।
औषधि निर्यात कडाइबारे भारतसँग छलफल
भारतले विभिन्न औषधिमा निर्यात प्रतिवन्ध लगाएपछि कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए।
सरकारले उपत्यकामा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि उनले बताए। सजकता अपनाउन जरुरी रहेकाले त्रासको वातावरण नफैलाउन आग्रह गर्दै उनले औषधि आपूर्ति, भिडभाड रोकथामका विषयमा मन्त्रालयले निरन्तर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताए।

प्रतिक्रिया