ad ad

राजनीति


एक महिना सडक सञ्जाल बन्द गर्न वामदेव गौतमको प्रस्ताव

एक महिना सडक सञ्जाल बन्द गर्न वामदेव गौतमको प्रस्ताव

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १५:१, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गर्नु प्रस्ताव गरेका छन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

उनले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ? भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताए।

नेता गौतमले नेपालको भूगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभावी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको धारणा राखे।

उनले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए।

उनले भने, ‘नेपालको भूगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभावी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिक धेरै मरिरहेका छन्। नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन्। कुनैपनि समस्या चाहे भूगर्भिक होस्, चाहे मानवीय होस् त्यसको कार्यकारण सम्बन्ध हुन्छ। बिना कारण कुनै घटना हुँदैनन्। कारण पत्ता लगाउन घटनाको सबै कोणबाट विश्लेषण गर्न सक्नुपर्छ।’

अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भूगर्भिक र २० प्रतिशत मानवीय रहेको उनको भनाई छ। गौतमले प्रकृतिप्रदत्त संरचनाहरूको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरूलाई नेपालमा केही समयका लागि बोलाउन आग्रह गरे।

उनले भने, ‘प्रकृतिप्रदत्त संरचनाहरूको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरुलाई नेपालमा केही समयका लागि बोलाइयोस्। नेपालमा रहेका वैज्ञानिकहरुसँग मिसिएर एउटा गोलमेच सम्मेलन गरियोस्। यसका सम्बन्धमा विस्तृत छलफल गरियोस्। हाम्रा सम्पूर्ण हिमताल, पहाडहरु, नदीहरु, नहर, बाँध, सडक संरचना, आवास संरचना, शहरका संरचना, पहिरो तथा अन्य अध्ययन गरिनुपर्ने संरचना यससँगै सन्दर्भित भएर हवाई सर्वेक्षण गरी अध्ययन गरियोस्। एक महिनासम्म सक्नुपर्ने गरी योजना बनाउनुपर्छ। त्यस बेलासम्म नेपालका सबै सडक बन्द गर्नुपर्छ। त्यसको ठाउँमा हवाई यातायात सुरु गर्नुपर्छ।’

सांसद गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई तत्काल निर्माण गरी चलाउनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .