ad ad

राजनीति


युएनडीपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

युएनडीपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार २०:१९, काठमाडौँ

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।

परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गरेकी छन्।

मन्त्री राणाले भनिन्, ‘सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ। कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने क्रममा नेपाललाई आर्थिक रूपमा सबल र दिगो, सामाजिक रूपमा समावेशी बनाउन युनएनडिपीको भूमिका अझ बढी महत्वपूर्ण रहेको छ।’

दिगो विकास लक्ष्यहरू हासिल गर्न युएनडिपी प्रतिबद्ध रहेको बताउँदै योकोसुकाले भनिन्, ‘उत्थानशीलताको निर्माण, रोजगारी सिर्जना र प्रजातान्त्रिक शासन व्यवस्थाको प्रवर्द्धन गर्ने क्षेत्रमा कार्यशील युएनडिपी, सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यमा राष्ट्रिय विकास प्राथमिकताहरूलाई सम्बोधन गर्न र ‘कसैलाई पनि पछाडि नछाड्ने’ वाचा पूरा गर्न तत्पर छ।’

नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकासँग विभिन्न नेतृत्वदायी भूमिकामा रहेर अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा काम गरेको २५ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ। नेपालका लागि नियुक्त हुनुअघि उनी जर्मनीको बोनस्थित युएन भल्युन्टिर्यस् (युएनभी) का लागि उपकार्यकारी संयोजकका रूपमा कार्यरत थिइन्।
 

उनले उज्बेकिस्तान, लाओ गणतन्त्र र बङ्लादेशमा युएनडिपीको उपआवासीय प्रतिनिधि भएर काम गरिसकेकी छन्। संयुक्त राष्ट्रसङ्घसँगको लामो आबद्धताका क्रममा योकोसुकाले युएनडिपीका लागि रोमानिया, युरोपस्थित युएनडिपीको क्षेत्रीय कार्यालय र न्युयोर्कस्थित युएनडिपी मुख्यालयमा रहेर काम गरिसकेकी छन्।

जापानी नागरिक योकोसुकाले युनिभर्सिटी अफ लन्डनको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .