राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहना र आकांक्षाअनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन्।
राष्ट्रियसभा सदस्यको सपथ लिए लगत्तै बुधबार बसेको राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरुका तर्फबाट मन्तव्य राख्दै उनले वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनु बाहेक विकल्प नभएको बताउका हुन्। उनले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई ‘यताउता’ गरेर बहाना देखाउने छुट नभएको बताए।
‘लोकतन्त्र भएन, संक्रमणकाल छ, संविधान छैन भन्न पाइँदैन। अब बहुमतको सरकार छैन, राजनैतिक स्थिरता छैन भन्न पाइँदैन’, उनले भने, ‘अब हामीले व्यवहारमा सम्मृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुबाहेक यताउता गर्ने ठाउँ छैन।’
राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुबाहेक अर्को विकल्प नभएको भन्दै उनले त्यसका लागि सरकारको एक्लो प्रयासले नहुने भएकाले सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
उनले अतिक्रमित भूभमाग फिर्ता, लोकतन्त्रको विकास र विकासको आधारभूत विषयमा सत्तापक्ष, विपक्ष लगायत सामाजिक संघ संस्था, नागरिक समाज सबैमिलेर काम गर्नुपर्नेमा जोड दिए। अतिक्रमित भू–भाग फिर्ता गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने, नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्दै नेपाललाई स्वभिमानी राष्ट्रको रुपमा उभ्याउने सवालमा नेपालका सबै राजनीतिक पार्टी नागरिक समाज र पेशागत शक्ति मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले लोकतन्त्रको अभ्यास, रक्षा र विकास तथा प्रतिगतमका सारा अभ्यासलाई असफल पार्न पनि राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले विकासका केही आधारभूत विषयमा पनि सबैको सहयोग, सहकार्य र सहमति आवश्यक रहेको बताए। बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आ आफ्नै समस्या रहेको भन्दै उनले निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्र बाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्ने बताए।
‘एउटा समस्या छ। लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण गर्छ। त्यो सत्ताको जिम्मेवारी लोकतन्त्रको रक्षा र विकास गर्नु हुन्छ तर सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा पैदा हुन्छ । त्यसैले सत्तामा भएकाहरुले त्यसबाट सजग हुनुपर्छ। त्यसबाट आफुलाई बचाउनुपर्छ’, उनले भने, ‘अर्कोतर्फ लोकतन्त्रले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका पूरा गर्न निर्देशित गर्छ तर त्यसको एउटा खतरा हुन्छ। ऊ विरोधवादमा फस्ने खतरा हुन्छ। निरपेक्ष विरोधमा फस्ने खतरा हुन्छ।’
राजनीतिक प्रणालीमा परिर्वतन गरेपनि त्यो प्रणालीले माग गरे अनुसार दृष्टिकोण, मुल्य मान्यता, आचार, संस्कृति व्यवहारमा अभ्यास गर्न नसक्दा राजनीतिक प्रणाली कार्यान्वयमा नगई कमजोर हुने भएकाले त्यसतर्फ गम्भीर बन्न पनि उनले सबैलाई अपिल गरे।
‘परिर्वतित राजनीतिक प्रणालीको सफल र प्रभावकारी ढंगले कार्यान्वयन गर्न राजनीतिलाई सफा गर्ने आन्दोलन आवश्यकता छ। लोकतान्त्रिक मूल्य मान्यताअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता छ ’, उनले भने, ‘समाजवाद उन्मुख भनेर संविधानले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक प्रणालीको चरित्रलाई निर्देशित गरेको छ। त्यो अनुसार अगाडि बढ्नुपर्दछ।’
सत्ताको पछाडि र सुविधाको पछाडि लाग्ने काम भए परिर्वर्तित राजनीतिक प्रणालीको लक्ष्य प्राप्ति नहुने उल्लेख गर्दै उनले वैचारिक स्खलन् र भ्रष्टाचारको प्रवृत्तिबाट मुक्त भई लोकतान्त्रिक मूल्य मान्यता, आचरणबाट युक्त भई अगाडि बढ्न आग्रह गरे।
Shares

प्रतिक्रिया