कारोबार


बजारमा पर्याप्त खाद्यान्न छ, आत्तिनु पर्दैनः व्यवसायी

बजारमा पर्याप्त खाद्यान्न छ, आत्तिनु पर्दैनः व्यवसायी

सन्तोष न्यौपाने
फागुन २१, २०७६ बुधबार ८:३३,

केही दिनअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसन वार्डमा भर्ना भएका चार बिरामीमा कोरोना भाइरसको आशंका भन्ने समाचार सार्वजनिक भएसँगै धेरैमा त्रास फैलियो।

मेडिकल जाँचबाट उनीहरुमा कोरोना भइरस नभएको पुष्टि भए पनि धेरैले चीनमा जस्तै कैयन दिन सहरै बन्द हुने हल्ला चलाए। सोही त्रासका बीच आमउपभोक्ताले सामान स्टक समेत राख्न थालेका छन्।

खाद्यान्न अभाव हुन सक्ने, ग्यास, तेल नपाइने भन्ने हल्ला भइरहे पनि सम्बन्धित व्यवसायीहरु आम उपभोक्तालाई नआत्तिन आग्रह गर्छन्। निजी क्षेत्रका अगुवा प्रतिनिधिले बजारमा सामान स्टक राम्रो भएको र भारतबाट सहजरुपमा सामान आयात भइरहेकाले उपभोक्ताले त्रसित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।

निजी क्षेत्रका प्रतिनिधिहरुका अनुसार ६ महिनासम्म पुग्ने सामान बजार मै छ।
नेपाल खुद्रा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष पवित्रकुमार बज्रचार्य बजारमा अहिले ६ महिनालाई पुग्ने खाद्यान्न स्टकमा रहेको बताउँछन्। ‘सामान नपाइएला कि भनेर कोही पनि आत्तिनु पर्दैन,’ नेपाखबरसँग कुरा गर्दै बज्रचार्यले भने, ‘६ महिनालाई पुग्ने खाद्यान्न बजार मै स्टक छ।’

भूकम्पको बेलामा पनि हल्लाहल्लैमा केही सामान अभाव देखिएको भन्दै त्यस्तो अवस्था आउन नदिन व्यवसायीसँगै उपभोक्ता सजक हुनुपर्ने उनी बताउँछन्।
उपभोक्ताले अनावश्यक रुपमा धेरै सामान स्टक राख्नाले पनि बजारमा समस्या आउन सक्ने बज्रचार्यको भनाइ छ। आवश्यक पर्ने सामान बाहेक धेरै स्टकमा नराख्न उनले आमउपभेक्तालाई आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि बजारमा प्रयाप्त मात्रामा सामान रहेको बताउँछन्।

‘आजका दिनमा पनि धेरै सामान स्टक राख्न खोज्ने कोही छ जस्तो मलाई लाग्दैन,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘बजारमा जति पनि सामान उपलब्ध छ, ५–६ महिनालाई यसैले पुग्छ।’

चार जनालाई कोरोना लाग्यो भन्ने हल्लाले एक दुई दिन केही त्रास भए पनि मंगलबारदेखि स्थिति सामान्य रहेको उन उनी बताउँछन्। सामान वितरण राम्रोसँग भएको र आयात पनि सहज भइरहेकाले अभाव हुनसक्ने अवस्था नरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बजारमा केही सामानको मूल्य बढ्न सक्ने तर सामान अभाव नुहुने बताउँछन्। ‘भारतबाट आउने खाद्यान्न सहज रुपमा आइरहेको छ,’ गोल्छाले भने, ‘तरकारी लगायतका उपभोग्य सामान नेपालमै पनि उत्पादन भइरहेकाले सामान अभाव हुँदैन।’

सामान अभाव नभए पनि चीनबाट आयात हुने केही वस्तुको मूल्य वृद्धि भइरहेको उनले बताए। चीनबाट धेरै आयात हुने लसुन, प्याच, फलफूल, जुसजस्ता वस्तुको मूल्य वृद्धि भएको छ।

निजी क्षेत्रसँग सरकारको छलफल

मुलुकभित्रै ७० प्रतिशतसम्म तरकारी उत्पादन भइरहेकाले यसको अभाव हुने अवस्था छैन। पछिल्लो समय सबैभन्दा अभाव भएको वस्तु भनेको मास्क हो। चीनमा कोरोना फैलिएसँगै चीनबाट मास्क आउन छोडेको छ। नेपालमा भएको मास्क पनि चीन निर्यात भएकाले पनि बजारमा यसको अभाव भएको व्यवसायीको भनाइ छ।

सरकारले खाद्यान्न अभाव हुन नदिन मंगलबार निजी क्षेत्रसँग छलफल गरेको थियो। मुख्य सचिव लोकदर्शन रेग्मीले निजी क्षेत्रका प्रतिनिधिलाई सिंहदरबार मै बोलाएर खाद्यन्न अभाव हुन नदिन आग्रह गरेको थिए।
कोरोना भाइरसका विरामी देखिहालेमा बजारमा त्रास फैलने र त्यही मौकामा बजारमा कालोबजारी हुन सक्ने तर्फ उनलेले निजी क्षेत्रलाई सचेत गराए। जवाफमा निजीक्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले बजारमा खाद्यान्न, तेल लगायतका वस्तु अभाव हुन नदिने प्रतिवद्धता जाहेर गरे।

बैठकमा मुख्य सचिवसहित गृह, अर्थ, कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिवहरु सहभागी थिए। निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका तर्फबाट उपाध्यक्ष दिपक मल्होत्रा र नवराज ढकाल र नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष सतिस मोरको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad