ad ad

राजनीति


जनकपुर–अयोध्या रेल छिटो चलाउन भारतको ताकिता

जनकपुर–अयोध्या रेल छिटो चलाउन भारतको ताकिता

रामकुमार डिसी
साउन १५, २०८१ मंगलबार २१:११, काठमाडौँ

नेपाल र भारतका दुई प्रसिद्ध धार्मिक नगरी जनकपुर र अयोध्यालाई जोड्ने रेल सेवा सुरु हुने भएको छ। एसी सुविधासहितको विशेष रेल सञ्चालनका लागि दुई देशका अधिकारीबीच संवादको प्रक्रिया सुरु भएको हो। 

जनकपुर–अयोध्या रेल सञ्चालन भएमा यो नै भारतको कुनै पनि सहरबाट सीधा नेपाल आउने पहिलो रेल हुने छ। हाल नेपालको जनकपुरदेखि भारतको सीमावर्ती सहर जयनगरसम्म मात्रै रेल चल्ने गरेको छ। 

रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका सम्बन्धित सरकारी अधिकारीबीच दुई चरणमा अनलाइन बैठक समेत भइसकेको छ। रेल विभागका प्रवक्ता कमलकुमार साहले रेल सञ्चालनबारे भारत सरकारसँग कुराकानी भइरहेको तर टुंगिइनसकेको जानकारी नेपालखबरलाई दिए। 

‘उहाँहरूसँग कुराकानी भइरहेको छ तर टुंगिसकेको छैन,’ उनले भने, ‘अनलाइन मिटिङमार्फत कुराकानी भएको हो। हामी उहाँहरूलाई बोलाएर भौतिक बैठक बसेपछि लिखितरुपमै प्रक्रिया अगाडि जान्छ।’

अध्यागमन, भन्सार र सुरक्षा लगायतका विषय समेत टुंगिएपछि रेल सञ्चालनबारे दुई देशबीच लिखिति सम्झौता हुनेछ।

जनकपुर–जयनगर रेल सञ्चालन हुनुअघि त्रिपालले ढाकिएको अवस्थामा

ओली र मोदीले उद्घाटन गर्ने
जनकपुर–अयोध्या रेल सेवाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने छन्।

रेल सेवा सञ्चालनबारे अझै लिखित सम्झौता भइनसकेको हुनाले उद्घाटनको समय र मोडालिटीबारे पनि टुंगो लागेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले रेल उद्घाटनबारे अहिलेलाई केही पनि जानकारी नभएको बताए। 

रेल सञ्चालनको टुंगो लागेपछि मात्रै रेलको उद्घाटन ओली र मोदीले आआफ्नै देशबाट गर्ने, मोदी नेपाल आउने या ओली भारत जाने भन्ने विषय टुंगिने बताइएको छ। 

रामायण सर्किटमा गुड्ने 
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रेल अयोध्याबाट गोरखपुर हुँदै नरकटियागंज, रक्सौल, सीतामढी, दरभंगा, जयनगर हुँदै नेपालको जनकपुर आइपुग्ने छ। यति हुँदा रेलले पूरा रामायण सर्किटभर यात्रा गर्ने छ। 

२०७५ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला जनकपुरमा मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा रामायण सर्किट बनाउने घोषणा गरेका थिए। र, उक्त सर्किटमा गुड्नेगरी जनकपुर–अयोध्या बससेवाको समेत त्यति बेला उद्घाटन भएको थियो। 

२०७५ बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला जनकपुरमा मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली

भगवान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ। यसको लम्बाइ ६ सय ५० किलोमिटर छ। भारतले सन् २०१५ को बजेटमै रामायण सर्किटको अवधारणा राखेर रकमसमेत छुट्याएको थियो।

गत माघमा अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन भएपछि भारतले यो सर्किटमा रेलसेवा पनि सञ्चालन गर्नेबारे विशेष जोड दिएर कुरा उठाएको नेपालका सरकारी अधिकारीहरूको भनाइ छ। 

भारतको ‘नर्दन रेलवे’ मार्फत जनकपुर–अयोध्या रेल सञ्चालन गर्नेबारे प्रस्ताव आएको हो। भारतले रेलको मोडेल, रेलको रुट, यसको टिकेटिङ लगायतका विषय प्रस्ताव गरेर पठाएको हो। 

आफूहरूले यसबारे सबै टुंगो लगाइसकेको भन्दै भारतीय दूतावासले भौतिक पूर्वाधार, परराष्ट्र लगायतका मन्त्रालयमा छिटो टुंगो लगाउन ताकिता समेत गरिहेको छ।

‘हामीले निर्णय गरेका छौँ भनेर भारतीय दूतावासले ताकेता गरिरहेको छ,’ भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले भने, ‘जतिसक्यो छिटो टुंग्याउनुपर्‍यो भनेर पत्राचार समेत गरेको छ।’ 

२२ डिब्बा भएको, २२ घण्टाको यात्रा
सुरुमा हप्तामा एक पटक रेल चल्नेछ। रेलको टिकट बुकिङ भारत र नेपाल दुवैतर्फ भारतीय रेलवे कम्पनीले नै गर्नेछ।

एसी, स्लिपर र जनरल कोच सुविधा हुने रेलका २२ डिब्बा हुनेछन्। रेललाई एकतर्फी यात्राका लागि मात्रै २२ घण्टा समय लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .