ad ad

राजनीति


मन्त्री हेरफेरको अन्तिम गृहकार्यमा प्रधानमन्त्री, बोलाए गठबन्धन बैठक

मन्त्री हेरफेरको अन्तिम गृहकार्यमा प्रधानमन्त्री, बोलाए गठबन्धन बैठक

सागर न्यौपाने
असार १६, २०८१ आइतबार २०:१, काठमाडौँ

कुनै घटनाले परिस्थितिमा परिवर्तन नआए आगामी मंगलबार (असार १८) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन्।

प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा ल्याउन लागिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। यसैका लागि प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन्।

‘अब दुई दिनमा मन्त्रिपरिषद् हेरफेर हुन्छ। १८ गते शपथ गर्ने गरी सहमति बनेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘भोलि (असार १७) साँझ गठबन्धन बैठक बस्छ, त्यसपछि निर्णय हुन्छ।’

नागरिक उन्मुक्तिलाई नेकपा माओवादी केन्द्रले समालिराखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दिने सहमति जुटिसकेको स्रोतले बताएको छ। नाउपाले पाएको भागमा अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निश्चित छ। 

पार्टीका महासचिव रतन थापा भन्छन्, ‘अध्यक्ष (रञ्जिता श्रेष्ठ) लाई मन्त्री बनाउने तयारी छ। पर्यटन मन्त्रालय नै दिने भनेर प्रधानमन्त्रीले वचन दिनुभएको भनेर अध्यक्षज्यूले भन्नुभएको छ। यसमा तलमाथि नहुनुपर्ने हो।’

२०७९ चैत १७ गते नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेकी थिइन्। 

यस्तै, जनमत पार्टीबाट अध्यक्ष चन्द्रकान्त (सीके) राउत आफै मन्त्री बन्ने सम्भावना छ। यद्यपि, अहिलेसम्म उनले पाउने मन्त्रालय टुंगो लागिसकेको छैन।

जनमतका अध्यक्ष राउतले आफ्नो दललाई दिने मन्त्रालय टुंगो लागेपछि मात्र मन्त्रीबारे निर्णय गर्ने बताए। 

‘अहिलेसम्म मैले कुनै निर्णय पाएको छैन। म सत्ता गठबन्धनको बैठकमा गएको छैन नि त,’ राउतले नेपालखबरसँग भने, ‘पहिला उहाँहरूको निर्णय आओस्। सायद भोलि पर्सितिर आउँछ होला।’

जनमतकी प्रमुख सचेतक अनिता साहका अनुसार राउतको दाबी उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयमा छ।

अध्यक्ष राउतले एमालेले निर्णय नगरेकैले ढिलाइ भएको बताए। 

‘उद्योग मन्त्रालयल नै भनेर भनेका छैनौँ। उहाँहरूलाई नै मन्त्रालय खाली गर्न गाह्रो भएको छ। त्यसैले यो प्रक्रिया लम्बिएको हो,’ उनले थपे, ‘पहिला उहाँहरूले टुंगो लगाएपछि हामी के गर्ने भनेर निर्णय गर्छाैँ।’

सरकारमा आफै जाने विषयमा राउतले प्रस्ट जवाफ दिन चाहेनन्। 

जेठ २९ गते प्रधानमन्त्री प्रचण्डले अध्यक्ष राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। 

तर, त्यसबेला राउतले मधेस प्रदेशको बजेट ल्याएपछि मात्र संघीय सरकारमा सहभागी हुन सकिने जवाफ दिएको बताए।

‘प्रधानमन्त्रीले जेठमै सरकारमा सहभागी हुन भन्नुभएको थियो तर मैले बजेटपछाडि मात्रै गरौँ भनेर भनेँ,’ उनले भने।

एमाले अध्यक्ष ओलीले राउतलाई उपप्रधान र परराष्ट्र मन्त्रालय लिन सन्देश पठाएका थिए। गृहमन्त्री रवि लामिछानेमार्फत् ओलीको सन्देश आएको राउतले स्वीकार गरे।  

‘मलाई सिधै भन्नुभएको होइन,’ उनले थपे, ‘रविजीहरूबाट तपाईं आफैँ उपप्रधान र परराष्ट्र मन्त्रालयमा आउनुपर्छ भन्ने सन्देश आएको हो।’

२०७९ पुसमा प्रचण्ड प्रधानमन्त्री हुँदा जनमतले अब्दुल खानलाई मन्त्री बनाएको थियो। त्यसबेला पनि जनमतले मागेको उद्योग मन्त्रालय नदिएर खानेपानी दिइएको थियो।

एमाले–माओवादी गठबन्धन भत्किएर कांग्रेस–माओवादी समीकरण बनेपछि सोही वर्षको चैत १७ गते जनमतले सरकार छोड्दै समर्थन फिर्ता लिएको थियो। 

त्यसयता फेरि कांग्रेस गठबन्धन भत्किएर एमाले–माओवादी–रास्वपा गठबन्धन बनेपछि जनमत सरकारमा सहभागी हुन लागेको हो। आफुलाई विश्वासको मत दिएका जनमत र नाउपालाई सरकारमा ल्याउन प्रचण्डले केही मन्त्री फिर्ता बोलाउन लागेका हुन्।

यसअघि जेठ २८ गतेभित्रै केही मन्त्री फेर्ने प्रचण्डको प्रयास सफल हुन सकेको थिएन। 

सत्तारुढ दल एमालेले मन्त्रालय छोड्न नमानेपछि त्यसबेला हेरफेर रोकिएको र ढिलाइ भएको जनमत अध्यक्ष राउतले बताए। त्यसपछि बजेट पारित गर्नका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर थाती राखेका थिए।

असार ११ गते विनियोजन विधेयक पारित भइसकेको छ भने आइतबार बजेटआश्रित सबै विधेयक प्रतिनिधि सभाबाट टुंगिएका छन्। यसैगरी, आइतबार (असार १६) गते प्रतिनिधि सभाबाट आर्थिक विधेयक, भन्सार महसुल विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएका छन्।

अर्थमन्त्री वर्षमान पुनले ती विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। 

‘संसदबाट अर्थमन्त्रीसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू पारित भइसकेकोले अब सरकारका केही मन्त्री हेरफेरको गृहकार्य हुन्छ,’ स्रोतले भन्यो।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरुमा प्रचण्ड र ओलीबीच झण्डै एक घण्टा छलफल भएपछि फेरि रविसहित थप एक घण्टा छलफल भएको थियो।

त्यसअघि पनि राजदूतको भागबण्डा गर्न असार ६ गते तीनै नेता छलफलमा बसेर समझदारी जुटाएका थिए। अब सोमबार (असार १७) मन्त्री हेरफेरमा समझदारी जुटाएर बुधबार नै नियुक्ति र शपथ गराउन लागिएको हो।

तर, शनिबार (असार १५) देखि राजनीतिमा केही नयाँ घटनाक्रम पनि विकास भएका छन्।

शनिबार एमाले अध्यक्ष ओली निवास बालकोटमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ३ घण्टा छलफल भएको छ। डा. आरजु देउवासँगै भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ।

कांग्रेस र एमाले दुवै तर्फबाट भेटवार्ताका विषय खुलाइएको छैन।  

यद्यपि, गठबन्धनमा समस्या पर्ने विषयमा छलफल नभएको जवाफ ओलीले नेताहरूलाई दिएका छन्। सोमबार सिंहदरबारमा निकै प्रफुल्ल ‘मुड’मा देखिएका ओलीले सञ्चारकर्मीहरूसँग यत्ति मात्र भने, ‘भेटघाट भइराख्या’छ। भेटघाटपछि भेटघाट। भेटघाटको सिलसिलासँगै भेटघाट।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .