ad ad

राजनीति


टेरामक्स प्रविधिले कल बाइपास गरेर हुने वार्षिक २५ अर्ब घोटाला रोक्छ : सांसद बस्नेत

टेरामक्स प्रविधिले कल बाइपास गरेर हुने वार्षिक २५ अर्ब घोटाला रोक्छ : सांसद बस्नेत

नेपालखबर
असार १४, २०८१ शुक्रबार १३:१७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोक्न खोजेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले कल बाइपास रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन्। 

‘टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ। यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा। एकदम कलिला, कलिला ओठ निचरे दूध आउने माननीयज्यूहरूदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ। उचित दिन आएछ भने म यसको जवाफ दिनेछु। यति कुरा म सदनमा राख्न चाहन्छु, टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरी यही विधिले नियन्त्रण गरेको छ र ठगि गर्ने धन्दा भएको छैन। नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजश्व घोटाला नेपालमा भएको छ,’ उनले भने।

टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताउँदै सांसद बस्नेतले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको दाबी गरे। 

‘यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भीओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त? संसारभरी विधि हुने यहाँचाहीँ विधि नहुने के हो त? मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ। २५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला। टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजश्व जोगाउने मन्त्र हो। फर्मुला हो। यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .