ad ad

राजनीति


माओवादी केन्द्रको विशेष महाधिवेशनबारे बोले प्रचण्ड र वर्षमान, यही वर्षभित्र गर्ने तयारी

माओवादीमा अब टिके प्रथा चल्दै चल्दैन : वर्षमान
माओवादी केन्द्रको विशेष महाधिवेशनबारे बोले प्रचण्ड र वर्षमान, यही वर्षभित्र गर्ने तयारी

नेपालखबर
असार ८, २०८१ शनिबार १८:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले ०७८ साल पुसको तेस्रो साता काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलन सम्मेलनलाई नै आठौँ महाधिवेशनमा रुपान्तरण गरिएको थियो। 

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको सो महाधिवेशनमा अध्यक्ष प्रचण्डले नै ६ महिनाभित्रै विशेष महाधिवेशन गर्ने घोषणा पनि गरे।

तर, त्यसयता माओवादीका नेताहरू यसबारे मोन छन्। 

शनिबार काठमाडौँमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्तले महाधिवेशनको प्रसंग निकाले। 

अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनका अनुसार, यही वर्षको अन्तिमसम्म कुनै न कुनै हिसाबमा विशेष महाधिवेशन गर्ने पार्टीभित्र मोटामोटी तालिका बनिसकेको छ। 

‘यो वर्षको अन्तिमसम्म कुनै न कुनै रुपले हामी विशेष महाधिवेशनतिर जाने कुरा पार्टीले मोटामोटी तालिका बनाएको छ,’ पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक भेलामा उनले भने, ‘त्यो क्रममा वडाहुँदै पालिकाका विभिन्न सम्मेलन हुँदै महाधिवेशनसम्म जान्छौँ।’

पुनलेजस्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पनि अब बस्ने केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति टुंगो लाग्ने बताए। 

पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले नयाँ विचार र संश्लेषणका लागि महाधिवेशनतर्फ जाने लागिएको जानकारी गराएका छन्। 

‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति, नयाँ संश्लेषण र विचारको निम्ति महाधिवेशनतिर जान्छौँ,’ प्रचण्डले भने, ‘अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको दिन तोक्छ।’

माओवादीको मूल नेतृत्वमा प्रचण्ड ३ दशकभन्दा बढी समयदेखि अनवरत छन्। यो महाधिवेशनबाट वडादेखि केन्द्रसम्मका सबै पदमा प्रतिस्पर्धाबाटै नेतृत्व चुनिने बताउँछन्, उपमहासचिव पुन। 

‘अब हामी टिके प्रथा गर्दैनौँ। बाहिर पनि राजनीतिक प्रतिस्पर्धाले जनप्रतिनिधि हुने हो। पार्टी भित्रपनि प्रतिस्पर्धा गरेर, कार्यकर्ताको मत जितेर वा टिका लगाएर हुँदैन। जसले मन जित्छ उ हुन्छ,’ उनले शनिबार भनेका छन्। 

प्रतिस्पर्धाको क्रममा कसैले माथिबाट हुक लगाउने र कोही तलबाट ज्याक लगाउने काम गर्न नहुने उनको भनाइ थियो। 

‘पार्टीभित्र समझदारी पनि हुनसक्छ। छलफल र बहस पनि हुनसक्छ। समझदारीबाट नेतृत्व बन्ला, प्रतिस्पर्धा भएपनि साथीहरूको मन जित्नेले नेतृत्व गर्छ, अरुले सहयोग गर्ने र हेर्ने हो,’ पुनले सुनाए। 

अध्यक्ष प्रचण्डले यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशन उद्घाटन गरेको स्मरण गर्दै अहिलेपनि सोही विधिमार्फत् मिति तोकिने जानकारी गराएका छन्। 

‘पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौँ, सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौँ,’ प्रचण्डले भनेका छन्। 

महाधिवेशनबाटै सच्चिएर पार्टी एकतालाई अझै बलियो बनाउनेगरी अघि बढ्नुपर्ने उनको भनाइ थियो। 

माओवादीको विशेष महाधिवेशन नहुँदा गत फागुनमा पार्टीले तय गरेको नयाँ विधान समेत कार्यान्वयनमा आउन सकेको छैन। माओवादीले गत फागुनमा विधान अधिवेशन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .