ad ad

राजनीति


ट्रम्पको भारत भ्रमण : सम्झौताभन्दा तामझाम बढी

ट्रम्पको भारत भ्रमण : सम्झौताभन्दा तामझाम बढी

नेपालखबर
फागुन १२, २०७६ सोमबार १४:४२,

चम्किला कपडा लगाएका महिलाहरु नाचिरहेका थिए। बलिउडका स्टारहरु गीत गाइरहेका थिए। रंगीविरंगी प्रकाश चम्किरहेका थिए। जब राष्ट्रपति डोनाल्ड ट्रम्प मञ्चमा उक्लिए, घामले धेरैबेरदेखि रापिएको भीडले गडगडाहट ताली बजायो।

टेलिभिजन रियालिटी शोबाट राजनीतिमा प्रवेश गरी राष्ट्रपति बनेका व्यक्तिले यस्तो दृश्य मन नपराउने कुरै थिए।

‘नमस्ते ट्रम्प!’ प्रधानमन्त्री नरेन्द्र मोदीले भीडतर्फ फर्केर कराए। भीडले चर्को आवाजमा त्यसलाई दोहोर्‍याउँदा ट्रम्पको अनुहारमा देखिएको चमक हेर्नलायक थियो।

मोदीसँगै उभिएर ट्रम्पले सोमबार अहमदावादको नयाँ मोटेरा रंगशाला उद्घाटन गरे। रंगशालामा रहेका एक लाख १० हजार सिट भरिभराउ थियो।

यद्यपि भारत आउनुअघि ट्रम्पले आफ्नो स्वागतमा ७० लाख मानिस जम्मा हुने अनुमान गरेका थिए। तर, अहमदावादको जनसंख्या नै जम्मा ८० लाख छ।

पछिल्लो समय बिग्रिएको व्यापार सम्बन्ध सुधार गरेर भारतसँगको समग्र सम्बन्ध सुमधुर बनाउने भन्दै ट्रम्प भारत आएका हुन्।

‘प्रथम महिला र म संसारको एक फन्को लगाएर आठ हजार माइल पार गरी यहाँका नागरिकलाई एउटै सन्देश दिन आएका छौँ– अमेरिका भारतलाई माया गर्छ। अमेरिका भारतलाई सम्मान गर्छ र अमेरिकीहरु भारतीय जनताको सधैँ वास्तविक र वफादार मित्र रहनेछन्,’ ट्रम्पले भने। ट्रम्पको भाषण रंगशालाको ठूलो स्क्रिनमा हिन्दीमा अनुवाद भइरहेको थियो।

ट्रम्पले अहिलेसम्म आयोजना गरेका राजनीतिक र्‍यालीहरुभन्दा यो निकै ठूलो थियो। गत वर्ष मोदी अमेरिका जाँदा ह्युस्टनको एक रंगशालामा ‘हाउडी मोदी’ आयोजना भएको थियो। त्योभन्दा यो झन्डै दोब्बर ठूलो थियो।

‘ट्रम्पको भ्रमण अमेरिका–भारत सम्बन्धमा नयाँ अध्यायको सुरुवात हो। यो अध्यायले अमेरिकी र भारतीयहरुको प्रगति र समृद्धिको चित्रण गर्नेछ,’ मोदीले हिन्दीमा भने।

trump-modi-plane.jpg

२७ मिनेट बोलेका ट्रम्पले अर्थतन्त्र, आतंकवाद, मोदीको चुनावी विजय, बलिउड फिल्म, भारतीय क्रिकेटरजस्ता विषयलाई छोए।

रंगशालासम्म जाने बाटोमा पनि दशौँ हजार मानिसले सानासाना अमेरिकी र भारतीय झण्डा हल्लाएर ट्रम्पको स्वागत गरे। साबरमती आश्रममा गएर ट्रम्पले चर्खा पनि चलाए।

यसअघि पनि ट्रम्प प्रधानमन्त्री भइसकेपछि चिनियाँ, जापानी र इजरायली नेताहरु अहमदावाद पुगेका थिए। तर, ट्रम्पलाई जति मोदीले कसैलाई महत्व दिएका थिएनन्। ट्रम्पको मात्र ३६ घण्टाको भ्रमणले नयाँ दिल्लीमा धेरै हल्लाखल्ला चलाइसकेको छ।

व्यापारको क्षेत्रमा खासै प्रगति नदेखिए पनि अमेरिका र भारतबीच रक्षा तथा रणनीतिक क्षेत्रमा पनि सहकार्य बढिरहेको छ। यही भ्रमणमा अमेरिकी कम्पनी लकहिड मार्टिनबाट भारतले ३ अर्ब डलरको हेलिकोप्टर किन्न सम्झौता हुनेछ। त्यस्तै अमेरिकाले भारतलाई १.८ अर्ब डलरको क्षेप्यास्त्र प्रतिरोधी प्रणाली बेच्ने चर्चा पनि छ।

उसो त विश्वको बदलिएको शक्ति समीकरणका कारण पनि भारत र अमेरिका निकट बन्दै गएका छन्। चीनको विस्तारलाई रोक्ने अमेरिका र भारत दुवैको चाहना इन्डो प्यासिफिक रणनीतिमा प्रतिबिम्बित भएको छ। अहमदावादको सम्बोधनमा ट्रम्प र मोदी दुवैले दुई मुलुक स्वभाविक साझेदार भएकोमा जोड दिए। एकअर्काको राजनीतिक व्यवस्थाको प्रशंसाका साथै भविष्यप्रति साझा धारणा रहेको पनि स्पष्ट पारे।

अहमदावादबाट ट्रम्प पत्नी मेलानिया, छोरी इभान्का र ज्वाइँ जेरड कुस्नरसहित उत्तरप्रदेशको आगरास्थित ताजमहल भ्रमण गरे। उनीहरुलाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विमानस्थलमै पुगेका थिए।

यसपछि दिल्लीमा ट्रम्पको स्वागत हुनेछ। मंगलबार राष्ट्रपति भवन र राजघाटको समारोहपछि उनले मोदीसँग वार्ता गर्नेछन्। लगत्तै हैदरावाद हाउसमा प्रेस वक्तव्य दिनेछन्। दूतावासको कार्यक्रम र लञ्चपछि उनी फर्किने छन्।

यो भ्रमण बढी देखावटी हुने प्रमाण के पनि हो भने भ्रमणको उपलब्धीबारे दुवै पक्षले अहिलेसम्म कुनै ठूलो दाबी गरेका छैनन्। भ्रमणका क्रममा जम्मा ५ वटा एमओयूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। सीमित खालको व्यापार सम्झौता हुने भनिएपनि त्यसको सर्त टुंग्याउन दुवै पक्ष सफल भएका छैनन्।

trump-melania-tajmahal.jpg

वर्षौँदेखि अमेरिका र भारत सम्बन्धमा न्यानोपन ल्याउने प्रयासमा छन्। व्यक्तिगत रुपमा मोदी र ट्रम्पबीच केही समानता छन्। उनीहरुबीच निकटता पनि छ। यद्यपि व्यापारमा भारतसँग राम्रो सम्बन्ध नभएको मोदीले बारम्बार गुनासो गर्दै आएका छन्।

ट्रम्पले अर्बौँ डलरको भारतीय सामग्रीलाई करमुक्त हुनेगरी दिइएको सुविधा खारेज गरेका छन्। बदलामा भारतले अमेरिकी सामानमा कर बढाएको छ। 

यो भ्रमणले मोदी र ट्रम्पलाई आआफ्नो मुलुकमा राजनीतिक रुपले धेरै फाइदा पुग्ने विश्लेषण पनि गरिएको छ। जम्मु र कस्मिर विभाजन, नागरिकता संशोधन कानुनलगायत विवादास्पद निर्णयबाट गुज्रेका मोदीका लागि महाशक्ति अमेरिकाका राष्ट्रपतिले भ्रमण गरिदिनु प्रचारबाजीका हिसाबले ठूलो उपलब्धि हो। त्यसैगरी भर्खरै महाअभियोग प्रस्ताव असफल बनाएका ट्रम्पका लागि पनि यो स्वागत आफ्नो प्रसिद्धि प्रदर्शन गर्ने मौका हो।

तर, विश्लेषकहरु यसलाई ठूलो उपलब्धि मान्न तयार छैनन्।

‘सबै अमेरिकी राष्ट्रपतिको भारत भ्रमण हेर्नका लागि भव्य हुन्छ,’ ब्रुकिङ्स इन्स्टिच्युसनकी वरिष्ठ अध्येता तान्वी मदनले सीएनएनलाई भनेकी छन्, ‘खासमा अमेरिकी राष्ट्रपतिहरु सबैबाट मन पराइएको महसुस गर्न भारत जाने गर्छन्।’

अहमदावादको तामझाम, झकिझकाउ पारिएको ताजमहलको भ्रमण र मोदीको मीठो बोली र न्यानो अँगालोमा बाँधिएपछि ट्रम्पले पनि निश्चय नै आफूलाई भारतमा खुब प्रेम गरिएको महसुस गरेका छन्।
–एजेन्सीको सहयोगमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .