आफ्नो पदीय मर्यादा बचाउन भन्दै राजीनामा दिएकी प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा मन्त्रालय फर्केकी छन्। पार्टी नेतृत्व एवं अग्रजको सल्लाहमा राजीनामा फिर्ता लिएर मन्त्रालय फर्केको उनले नेपालखबरलाई बताइन्।
‘मैले राजीनामा दिएको थिएँ। तर पार्टी नेतृत्व र अग्रजहरुको सल्लाहमा पुनः फर्किएँकी हुँ।’ राजपा नेपालबाट राज्यमन्त्री बनेकी झाले भनिन्। मन्त्री झा राजपा नेपालका केन्द्रीय संयोजक मण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती हुन्।
कुनै पनि जिम्मेवारी नदिएको भन्दै 'पदीय मर्यादा' बचाउन माघ १४ गते उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई राजीनामा बुझाएकी थिइन्।
प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकूल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएकाे राज्यमन्त्री झाले राजीनामा पत्रमा उल्लेख गरेकी थिइन्।
सोमबार मन्त्रालय फर्किएपछि राज्यमन्त्री झाले मन्त्री सोनलसँग मन्त्रालयको विषयमा कुराकानी समेत गरेकी छन्।
प्रतिक्रिया