अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्न राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताए। ‘हामीले सफाइ गर्न खोजेको हो,’ उनले भने, ‘हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन । हामीले शुद्धिकरण अभियानको रुपमा, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने रुपमा नै जानुपर्ने हुन्छ । त्यसरी सरकार उभिएको छ। राज्यका सबै निकायहरुमा शुद्धिकरण अथवा सुशासनको लागि सरकारले काम गरिराखेको छ।’
भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै उनले अघि भने, ‘सचिव छ, तल उपसचिव छ। तल फाइल उठाउनेलाई पनि कारबाही हुँदैन। सचिवलाई पनि हुँदैन। बीचको उपसचिव, सहसचिवलाई गरिराखेको हुन्छौँ। फाइल उठाउने अधिकृतलाई पनि हुँदैन । त्योभन्दा माथि स्वीकृत गर्नेलाई पनि हुँदैन। यस्तो हुँदैन हाम्रोमा। हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन।’
Shares
प्रतिक्रिया