ad ad

राजनीति


शपथलगत्तै दिल्लीमा मोदीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने

शपथलगत्तै दिल्लीमा मोदीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने

नेपाल भ्रमणका क्रममा नरेन्द्र मोदीसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट (फाइल तस्बिर)


नेपालखबर
जेठ २६, २०८१ शनिबार १७:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि (आइतबार) भारतको औपचारिक भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए। 

‘प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ,’ ती अधिकारीले भने।

प्रधानमन्त्री प्रचण्डको साथमा स्ककीय सचिव समेत रहेकी छोरी गंगा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, लगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने कार्यक्रम छ। 

आइतबार शपथ ग्रहण समारोह सकेर प्रचण्ड सोमबार (जेठ २८) नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ। प्रचण्डलाई मोदीले निर्वाचित भएपछि भएको टेलिफोन वार्ताबाटै औपचारिक निमन्त्रणा दिएका थिए।

लगत्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।  त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिएनन्। 

यसपटक भने गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा सहभागी हुने भएका छन्।

निर्वाचन जितेपछि भएको प्रचण्ड र मोदीबीचको टेलिफोनमा आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो। 

प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै सामाजिक सञ्जालमार्फत लेखेका थिए, ‘उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।’

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ। 

एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ। (राससको सहयोगमा) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .