ad ad

राजनीति


टीओआर टुंग्याउन आज देउवासहित शीर्ष नेताहरूको बैठक

टीओआर टुंग्याउन आज देउवासहित शीर्ष नेताहरूको बैठक

नेपालखबर
जेठ १३, २०८१ आइतबार ६:४९, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे कार्यदलले जुटाएको सहमतिलाई अन्तिम रूप दिन आज (आइतबार) फेरि शीर्ष नेताहरूबीच छलफल हुने भएको छ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्था र कम्पनी (गोरखा मिडिया) को नाम उल्लेख गर्ने लगभग सहमति भएको छ।

यसमा छलफल गर्न शनिबारै साँझ बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएको थियो। तर शनिबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन्। उपसभापति पूर्णबहादुर खड्का, सांसद परियार, ज्ञानेन्द्र बहादुर कार्कीलगायत मात्र थिए। 

त्यसैले आज पुनः सभापति देउवासहित शीर्ष नेताहरूबीच छलफल हुने नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले जानकारी दिए। 

‘आज बिहान ९ बजे बालुवाटारमा हाम्रा सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बसेर छलफल गर्नुहुन्छ’, कार्यदल सदस्य परियारले आइतबार बिहान भने। 

यसअघि प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै राख्नुपर्ने अडान लिइरहेको थियो। तर पछिल्लो समय अलि लचक हुँदै कांग्रेसले व्यक्तिको नाम नतोक्ने तर गृहमन्त्री लामिछाने जोडिएका संस्थासम्म उल्लेख गर्नेमा सहमति जनाएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .