ad ad

राजनीति


रविको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखलाई विश्वप्रकाशको आग्रह

रविको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखलाई विश्वप्रकाशको आग्रह

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १६:३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीवार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए।

उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो? भन्दै प्रश्न गरे। सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे।

उनले भने, ‘संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमा छन् भन्नुभयो, त्यो भन्न पाइँदैन। सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्ने कुरा संसदमा बोल्न पाइन्छ भन्ने कुरामा सहमत हो? यदी होइन भने किन रेकर्डबाट हटाउनु हुन्न? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर।’

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे। कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे।

उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसकेका बताए।

उनले भने, ‘विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, विश्वप्रकाश शर्मा दोषी देखिए विश्वप्रकाश शर्मा जेल जाने हो, बाँकी कांग्रेस जाने होइन। सती प्रथा हो? श्रीमानको मृत्यु भएपछि श्रीमती जाने? यो त चन्द्र समशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो। सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ।’

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताए। उनले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताए। महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताए। नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताए।

राजनीतिमा कुनैपनि संकट नरहेको महामन्त्री शर्माको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .