सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले कमिसन प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा दोषी देखिए कानुनी कारबाही हुने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० लाख कमसिन मागेको अडियो प्रकरणकारे सरकारले छानबिन गर्ने बताए।
‘राज्य र सरकारतर्फबाट यस विषयमा गम्भीरतापूर्वक छानबिन हुन्छ’, उनले भने, ‘छानबिन भएर कति घोटाला भएको हो या होइन भन्ने कुरा पत्ता लगाएपछि दोषीउपर कानूनसम्मत ढंगले आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्छ।’
सचेतक गुरुङले बाँस्कोटाको अडियो प्रकरणमात्रै अहिले बाहिर आएकोले यत्तिकै आधारमा कति दोषी हो या होइन भनेर किटान गर्न नसकिने बताए। उनले यसबोर विस्तृत रुपमा छानबिन गर्न आवश्यक रहेको बताए।
सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार–सरकारबीच सम्झौता गरेर त्योसम्बन्धी खरिद गर्ने कुरा भएको बताए। उनले सरकारले ग्लोबल टेण्डरबिना कुनै कम्पनीसँग मात्रै सम्झौता गरेर खरिद गर्ने प्रक्रिया कति उपयुक्त वा अनुपयुक्त भन्दै यो नीतिगत रुपमा पनि पूर्नविचारको विषय भएको बताए।
‘कानुनी रुपमा ग्लोबल टेन्डर प्रक्रियाअनुसार जानुपर्ने थियो भन्ने देखिन्छ। तर, पनि कुनै एउटा सर्टेन कम्पनीसँगमात्रै एग्रिमेन्ट गरेर जाने खालको जुन ट्रेण्ड देखिरहेको छ, त्यसले पनि केही न केही प्रश्नहरु उठेको अवस्था हो’, उनले भने, ‘त्यही प्रश्नहरु उठेको हुनाले संसदको सार्वजनिक लेखा समितिमा यो छलफल भएको अवस्था हो। यो अहिले अध्ययनकै क्रममा छ।’
नीतिगत कुरा संसदीय समितिले हेर्ने र निवर्तमान मन्त्री बाँस्कोटाबाट कति गल्ती वा भ्रष्टाचार भएको हो या होईन भन्ने कुरा चाहिँ कानुनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने उनको भनाई छ। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रक्रियाबाट छानबिन सहज कुनै पनि प्रकारको भ्रष्टाचारलाई छुट दिन नहुने बताए।

प्रतिक्रिया