प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्।
दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो।
शनिबार बलुवाटारमा आफूले लेखेको पुस्तक ‘भिजन टु एक्सन’ को विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए।
दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भए पनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे।
‘सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन्। उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैगरी हामीले भिन्न–भिन्न विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ। सरकार त्यही नीति अख्तियार गरेर अगाडि बढिरहेको छ।’

प्रधानमन्त्री ओलीले नेपाल फैलिन नसके पनि समृद्ध हुन कसैले पनि रोक्न नसक्ने बताए। उनले नेपाल चीन र भारतजस्ता दुई शक्तिशाली देशका बीचमा रहेकको भन्दै नेपालमा समृद्धि ल्याउन दुवै देशले नरोक्ने बताए।
‘हामी दुई ढुंगाको तरुल जस्ता छौँ‘, फैलन सक्दैनौँ र पाउँदैनौ पनि’, उनले भने, ‘किनकि हाम्रा छिमेकीहरु सबै तबरले शक्तिशाली छन्। तर, अहिले उपलब्ध भूमिमा समृद्धि हासिल गर्न उनीहरुले रोक्दैनन्।’
प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पर्धालाई हटाएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत औँल्याए। अरुलाई आफूभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने, ‘अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन्। अरुकोभन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नति गर्छ। अरुको बिगारेर आफू सप्रिने होइन्। अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ।’ देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आए पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिने बताए।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताए। दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, ऊर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए। जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पु¥याउन सकिएन भने केही गर्न नसकिने बताए।

प्रतिक्रिया