प्रधानमन्त्री केपी ओली अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। ओली मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।
मुटु परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ। यसअघि उनले मनमोहन सेन्टरमै नियमित डायलासिस गराउने गरेका थिए।
गत मंसिरमा एपेन्डिसाइटिसको अप्रेसन गरेपछि ओली सोही अस्पतालमा १० दिनको उपचारपछि डिस्चार्ज भएका थिए। त्यसपछि पनि उनी प्रधानमन्त्री निवास बालुवाटार छाडेका थिएनन्। केही दिन देखि मात्र उनी सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका थिए।
प्रधानमन्त्री ओलीको कात्तिक १३ गते यता नियमित डायलायसिस गरिँदै आएकाे छ।
०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्।
गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।
१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो।

प्रतिक्रिया