ad ad

राजनीति


गृहमन्त्री रवि तीन दिन इलाममै बस्ने, ओलीले मंगलबारे र गगनले इलाम चोकमा सम्बोधन गर्दै

गृहमन्त्री रवि तीन दिन इलाममै बस्ने, ओलीले मंगलबारे र गगनले इलाम चोकमा सम्बोधन गर्दै

रुपक चौलागाईं
बैशाख ३, २०८१ सोमबार १५:७, काठमाडौँ

इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलो र प्रचारमा जुटेका छन्। उम्मेदवारसँगै उनीहरू आबद्ध दलले चुनावी आमसभाका कार्यक्रमहरू पनि तय गरेका छन्। 

खासगरी नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठूला चुनावी आमसभाको तयारी गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारहरू पनि मतदातासमक्ष आफ्नो उपस्थिति बलियो बनाउने गरी रणनीति बुनिरहेका छन्। 

यसैबीच नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ५ (बुधबार)का लागि बृहत् संयुक्त आमसभा गर्दै छन्। उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू पुग्ने कार्यक्रम छन्। 

देउमाई नगरपालिकामा पर्ने मंगलबारे बजारमा कार्यक्रम आयोजना गरिने एमाले इलामका उपाध्यक्ष उदय राईले जानकारी दिए। सोही कार्यक्रममा एमाले सचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि सहभागी हुनेछन्।

‘कार्यक्रमको तयारी अघि बढाएका छौँ,’ राईले नेपालखबरसँग भने, ‘अध्यक्ष (ओली) ज्यू भोलि (मंगलबार) बेलुका नै आइपुग्नुहुन्छ।’

उक्त आमसभा सकेर ओली सोही दिन काठमाडौँ फर्कने तालिका रहेको उनले जानकारी दिए। एमालेका प्रदेश र जिल्ला तहका अन्य नेताहरू समेत कार्यक्रममा सहभागी हुनेछन्। 

त्यसपछि पनि मौन अवधि सुरु नहुँदासम्म अन्य पालिकामा विभिन्न सभाहरू आयोजना गरिने राईले जानकारी दिए। 

इलामकी इन्चार्जसमेत रहेकी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे केही सातादेखि निर्वाचन क्षेत्रमै छिन्। केन्द्रमा नेताहरूको आवातजावत र चुनावी कार्यक्रम तय गर्नमा उनी व्यस्त छिन्। 

यहाँ एमाले र माओवादीको तर्फबाट सुहाङ नेम्बाङ उम्मेदवार छन्। सुहाङलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि सहयोग गर्ने बताएको छ। 

माओवादीले यहाँ आफ्नै उम्मेदवार बनाउन खोजेको थियो। तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच सुहाङलाई नै सहयोग गर्ने समझदारी बन्यो। त्यसपछि माओवादीबाट सिफारिस भएका धीरेन्द्र शर्मा पछि हटे।

अहिले माओवादी र एमालेका नेता कार्यकर्ता संयुक्त रूपमा प्रचारप्रसारमा जुटेका छन्। 

त्यस्तै, नेपाली कांग्रेसले पनि प्रचारप्रसारलाई तीव्र बनाएको छ। कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। 

खड्का यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। उनी दिवंगत नेता सुवास नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए। अहिले पनि सभापति शेरबहादुर देउवाले उनै खड्कालाई चुनावी मैदानमा उतारेका छन्। 

खड्काका चुनावी सहयात्री शिव थापाका अनुसार आगामी ८ गते कांग्रेसले विशेष सभा गर्दै छ। इलाम नगरपालिकामा पर्ने इलाम चोक बजारमा कांग्रेसले सो सभा आयोजना गर्न लागेको हो।

जसमा पार्टी केन्द्रबाट नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलगायत शीर्ष नेताहरू सम्बोधनका लागि पुग्ने कार्यक्रम तय भएको छ।

त्यसपछि १०, ११ र १२ गते कांग्रेसले विभिन्न ठाउँमा चुनावी सभाहरू राख्ने कार्यक्रम रहेको थापाले बताए। 

अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अहिले इलाममै छन्। शर्मालाई पार्टीले इलामको चुनावी कमान्डर बनाएर पठाएको हो। 

शर्माले यसअघि एकपटक इलाम पुगेर त्यहाँको वस्तुस्थितिबारे बुझेका थिए। उनले केन्द्रमा सभापतिसमक्ष इलाममा खड्कालाई नै उठाउँदा राम्रो हुने ब्रिफिङ समेत गरेका थिए। 

उता, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी कार्यक्रमको तालिका बनाइसकेको छ। 

फिल्डमा खटिएका नेताहरूले एक चरणमा कार्यतालिका बनाएर केन्द्रका नेताहरूसमक्ष पठाएका छन्। सोही कार्यतालिका ध्यानमा राखेर सांसद, मन्त्री र नेताहरू इलाम पुग्ने प्रदेश सभापति राजेश तिमिल्सिनाले जानकारी दिए। 

उनका अनुसार, वैशाख ७ गतेका लागि सभापति रवि लामिछानेलाई इलाम बोलाइएको छ। ७ गते इलाम चोक बजारमै आमसभा गर्ने तयारी गर्ने रास्वपाको तयारी छ।

सोही सभालाई सम्बोधन गर्न उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पुग्ने कार्यक्रम तय भएको हो। कम्तीमा तीन दिन इलाम–२ का सबै पालिकामा सभापति लामिछानेलाई नै घुमाउने रास्वपाको तयारी छ। 

‘सकेसम्म सबै पालिकामा आयोजित सभामा सभापतिज्यूलाई पुर्‍याउने भन्ने तयारी छ,’ रास्वपाका एक नेताले भने, ‘हेरौँ, उहाँको समयले कतिको साथ दिन्छ।’

सभामा पार्टीका अन्य सांसदहरू पनि पुग्नेछन्। 

तिमिल्सिनाका अनुसार ६ र ७ गते शिक्षामन्त्री सुमना श्रेष्ठ इलाम पुग्ने कार्यक्रम तय भएको छ। श्रेष्ठ दुई दिन चुनावी अभियानमा सहभागी हुनेछिन्। 

त्यस्तै, ८ गते श्रममन्त्री डोलप्रसाद अर्याल इलाम पुग्नेछन्। सांसद सोविता गौतम पनि ८ गते नै इलाम पुग्ने कार्यक्रम छ। 

९, १० र ११ गते विभिन्न पालिकामा कोणसभाहरू आयोजना हुने तिमिल्सिनाले बताए। १० र ११ गते चुलाचुली र माई नगरपालिकाका वडामा प्रचार प्रसारका कार्यक्रम तय भएको जनाइएको छ। 

रास्वपाले यहाँ सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमान्डर बनाएको छ। यसअघि तनहुँ–१ मा भएको उपनिर्वाचनमा पनि बुर्लाकोटी नै कमान्डर थिए। 

उनी केही सातादेखि इलाममै छन्। पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसद अशोक चौधरी लगायत अहिले चुनावी अभियानमा छन्।

रास्वपाले पत्रकार समेत रहेका मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। लिम्बूले यसअघि स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेका थिए। पछि रास्वपाले टिकट दिएपछि उनी घण्टी चुनाव चिन्ह बोकेर मतदातासमक्ष भोट मागिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .