राजनीति


ओखलढुंगाका निवर्तमान एमाले अध्यक्षले छाडे पार्टी, अधिवेशनमा केन्द्रले हस्तक्षेप गरेको आरोप

ओखलढुंगाका निवर्तमान एमाले अध्यक्षले छाडे पार्टी, अधिवेशनमा केन्द्रले हस्तक्षेप गरेको आरोप

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार १५:२२, काठमाडौँ

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका निवर्तमान जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छाडेका छन्।

एमाले जिल्ला कमिटीको दशौँ अधिवेशनका क्रममा केन्द्रीय नेतृत्वबाट हस्तक्षेप गरिएको गुनासोसहित उनले पार्टी छाडेका हुन्।

बुधबार एमाले ओखढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का, उपाध्यक्षमा कमल न्यौपाने, सचिवमा अशोक थापा, उपसचिवमा अस्मिता थापा र राजिव कटुवाल चयन भएका थिए। 

निवर्तमान अध्यक्ष कटवालले त्यसलगत्तै पार्टी परित्याग गरेका हुन्। 

‘तपाईंहरुको कार्यकालमा ओखलढुंगामा सबै पालिका, वडा, प्रदेश र सघंको निर्वाचन जित्न र जिताउन सक्नु होस, शुभकामना!’, उनले यति भन्दै एमाले त्यागेको घोषणा गरेका छन्। 

३४ वर्षको राजनीतिक जीवनमा आफूले यो अधिवेशनमा जस्तो गलत रबैया, गुटगत गतिबिधिहरू र अरोपप्रत्यारोपको होडबाजी कहिले नदेखेको उनले बताएका छन्। त्यस्तै अधिवेशनमा केन्द्रीय नेतृत्वको कार्यशैली र पक्षधरताप्रति पनि उनले आपत्ति जनाएका छन्। 

‘अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ', उनले भनेका छन्, 'यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत पार्टी परित्याग गरेको राजीनामा पठाएको छु।’

उनले अब आफू एमालेको साधारण सदस्यसमेत नरहेको पनि घोषणा गरेका छन्। 

जिल्ला अधिवेशनमा प्रतिनिधिको अन्तिम नामावली प्रकाशनका क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि स्थायी कमिटी सदस्य शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सदस्य अम्बिरबाबु गुरुङसम्मले हस्तक्षेप गरेपछि उनी पार्टी छाडेको उनले बताएका छन्।

केन्द्र र प्रदेशका नेताहरुले जिल्लामा बसेर राजनीति नगर्ने व्यवसायीहरूको समूहले प्यानल बनाएर चुनाव गराएको भन्दै ओखलढुंगामा विवाद चर्किएको छ। 

दशकौँ श्रम र पसिना बगाएका नेता कार्यकर्तालाई पाखा लगाएर केन्द्रीय नेतृत्वबाटै नांगो हस्तक्षेप भएपछि उनले पार्टी परित्याग गरेको उनीनिकट एक नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .