ad ad

राजनीति


प्रधानमन्त्री भन्छन् : कांग्रेसले सत्ता छाडेपछि रविजीलाई ‘टार्गेट’ गर्‍यो, यो राजनीतिक पूर्वाग्रह हो

प्रधानमन्त्री भन्छन् : कांग्रेसले सत्ता छाडेपछि रविजीलाई ‘टार्गेट’ गर्‍यो, यो राजनीतिक पूर्वाग्रह हो

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २९, २०८० बिहिबार १४:२१, विराटनगर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन गठबन्धन फुटेर सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा ‘टार्गेट’ गरेको बताएका छन्। 

विराटनगरमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा प्रचण्ड सहकारीका मुख्य समस्या छाडेर कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गृहमन्त्री लामिछानेलाई निशाना बनाएको बताएका हुन्। 

प्रधानमन्त्रीले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै छानबिन हुने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेबारेमा छुट्टै छलफल गरेर समस्याको निकास दिन सकिने उल्लेख गरे।

प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी क्षेत्रका समस्या समाधान गर्नेभन्दा गठबन्धन फेरिएपछि रविकेन्द्रित राजनीतिक मुद्दा बनाएको उल्लेख गरे।

‘पहिले हामीसँगै कांग्रेस पनि सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकार छाडेपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ’, दाहालले भने।

उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन कांग्रेसले रविलाई घेराबन्दी गरेको बताउँदै तर त्यो प्रयास सफल नहुने जवाफ पत्रकारहरूलाई दिए। 

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्दो कुरा होइन’, प्रधानमन्त्री भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग यो ‘केस’ के हो?  भनेर सोधेको थिएँ। उहाँहरूले यसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, त्यही आधारमा मैले बोलिरहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .