राजनीति


घरपायक होइन, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ : मन्त्री बाँस्कोटा

घरपायक होइन, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ : मन्त्री बाँस्कोटा

नेपालखबर
फागुन ४, २०७६ आइतबार ११:५९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गरेका छन्।

मन्त्री बाँस्कोटाले आइतबार बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षक सुरुवा–बढुवामा नेता तथा जनप्रतिनिधि र आफूलाईसमेत नगुहार्न आग्रह गरेका हुन्। ‘अब शिक्षकको समायोजनको बेला आएको छ, आफू र आफ्ना मान्छे शिक्षक भए सरुवा–बढुवामा कसैलाई भेटेर हैरान पार्ने हैन, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ।’

उनले आफ्नो मान्छे कहाँ प¥यो भनेर निगरानी गरेर नहिँड्न पनि शिक्षक युनियन, संघ र संगठनलाई सुझाब दिए।

मन्त्री बाँस्कोटाले स्थानीय तहका जनप्रतिनिधिलाई शिक्षकको सरुवा–बढुवामा चासो नदिनसमेत आग्रह गरे। ‘शिक्षकलाई सरकारले सुविधासहित पारिश्रमिक दिएपछि समायोजनका आधारमा अभावको स्थानमा जाने र विद्यालयमा शिक्षाको स्तर बढाई असल नागरिक जन्माउनुपर्छ, यो उहाँहरुको कर्तव्य पनि हो’, उनले भने। ‘घरपायक’ मात्रै भनेर संघ–संगठनको नाममा आन्दोलन गरेर ‘पुल्ठो झोस्न’ नहुने उनको तर्क थियो।

मन्त्री बाँस्कोटाले दुर्गम जिल्लाका विद्यार्थीले कठिनाइपूर्वक अध्ययन गरिरहेको स्मरण गर्दै संघ–संगठन मिलेर शिक्षकलाई शहरकेन्द्रित नबनाउन आग्रह गरे। उनले भने, ‘अन्यभन्दा शिक्षण सुखी पेशा हो, अविभावकको विश्वास जित्नेगरी राम्रो, ज्ञानी, असल र मेहनती जनशक्ति उत्पादन गर्नुपर्छ।’ नयाँ शिक्षा नीति आउने तर्खरमा रहेको उल्लेख गर्दै विद्यालयलाई संसार चलाउने दिमागको सर्वश्रेष्ठ प्रयोगशाला बनाउनुपर्ने उनको धारणा थियो।

उनले आजै बनेपा नपा–३ वडा कार्यालय भवनको शिलान्यास गर्दै निर्माण व्यवसायीलाई तोकिएको समयमा काम नभए पैतृक सम्पत्तिबाट असुलउपर हुने र समयसीमाअघि निर्माणसम्पन्न गरे १० प्रतिशत थप्ने कानून पास गरिसकिएको बताए।

उनले वर्तमान सरकारअघि ९७ हजार मात्रै घर पुनर्निर्माण भएकामा हाल चार लाख ८२ हजार आवास निर्माण भइसकेका बताए। ‘सरकारको काम तीव्र गतिमा अघि बढिरहेको छ, प्रधानमन्त्रीको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपनाका लागि अझै धेरै काम गर्न बाँकी छ’, उनले भने। उनले आज बनेपा–३ स्थित नन्दीमाता नदीमा नवनिर्मित पुलको समेत उद्घाटन गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad