चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको मूल्यवृद्धि झण्डै ७ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा महंगी दर उच्च हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७६/७७ को ६ महिनाको मुलुकको आर्थिक तथा वित्तीय विवरणअनुसार उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको छ।
गत वर्षको सोही अवधिमा यस्तो महंगी वृद्धिदर ४.५८ प्रतिशत रहेको थियो।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महंगी १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ।
यस अवधिमा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराइमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशतले मूल्य वृद्धि भएको छ। २०७५ पुसमा यि क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्य वृद्धि भएको थियो।

प्रतिक्रिया