गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी विधेयक’ माथि विरोधको सूचना राख्ने क्रममा संख्या गणना भएको हो।
उनले विरोधको सूचना फिर्ता नलिएपछि नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्याको विषय उठाएका थिए।
लगत्तै संख्या गणना गर्दा संसदमा ६५ जनामात्रै सांसद उपस्थित भएको संसद् सचिवालयले जानकारी गरायो।
प्रतिनिधिसभा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ हुन्छ। २७५ सदस्यीय संख्यामा ६९ आवश्यक हुन्छ। तर, आजको बैठकमा ६५ जना मात्रै उपस्थित भएको थाहा पाएपछि स्थगित गरिएको थियो।
अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ।
36
Shares

प्रतिक्रिया