राजनीति


विधान अधिवेशनपछि नेता भन्छन् : माओवादी अब शक्तिमा फर्किन्छ

विधान अधिवेशनपछि नेता भन्छन् : माओवादी अब शक्तिमा फर्किन्छ

सागर न्यौपाने
फागुन ४, २०८० शुक्रबार १९:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रको नयाँ विधान कार्यान्वयन गर्न सके त्यसले पार्टीमा आशा सञ्चार गर्ने सो पार्टीका नेताहरुले बताएका छन्। 

बिहीबार माओवादी केन्द्रको पहिलो विधान अधिवेशनले नयाँ विधान पारित गरेको छ। यसले माओवादीलाई रुपान्तरण गराउने आधार तयार पारेको युवा नेताहरु दाबी गर्छन्। तर, पार्टी नेतृत्वले विधान कार्यान्वयन गर्नेमा उनीहरुले शंका व्यक्त गरेका छन्।

माओवादीका केन्द्रीय सचिव गणेश साहले विधान अधिवेशनमा निर्णय भएका तराई–मधेस हुलाकी मार्ग जनजागरण अभियान र उत्तर र दक्षिण क्षेत्रको अभियानले पार्टीलाई जनतासँग जोड्ने बताए। 

‘विधान अधिवेशनपछि पार्टीलाई अधिकार सम्पन्न बनाउनेतिर गएको छ,’ साहले नेपालखबरसँग भने, ‘यसले दिनप्रतिदिन पार्टी बलियो हुने ढोका खुलेको छ।’  

अर्का नेता अजम्बर काङमाङले द्वन्द्वबाट शान्तिप्रक्रियामा आएर संसदीय राजनीति थालेको माओवादी बल्ल सांगठनिक क्षेत्रमा गएको बताए।

संगठनभित्रका नेतृत्व निश्चित मान्छेको पकडमा रहेकोमा अब सबै प्रत्यक्ष निर्वाचित गर्ने विधि ल्याएर माओवादीले लेनिनवादी संगठन सिद्धान्तलाई अबलम्बन गरेको उनले दाबी गरे। 

‘सांगठनिक कुरामा जोड दिएर सबै कमिटीमा प्रत्यक्ष निर्वाचन अपनाउनु पर्छ भन्ने नीति पारित गरेको छ,’ उनले भने, ‘नयाँ नेतृत्व आउने मात्र होइन, विचारहरुको प्रवाह र आपसी प्रतिस्पर्धा हुन्छ भन्ने सम्भावना खोलेको छ।’

सांगठनिक रुपमा नयाँ पुस्तालाई आकर्षित गर्ने उनको भनाइ छ।

‘पहिचानको मुद्दा लिएर जाने, जातीय एजेन्डालाई उठाउने जस्ता निर्णयले माओवादीले शक्ति आर्जन गर्छ, अधिवेशनले पुनर्जागृत गराएको छ,’ काङमाङले थपे। 

पार्टी नेतृत्वको आलोचना गर्दै आएका नेता लेखनाथ न्यौपाने विधानमा समेट्ने निर्णय गरिएका विषयवस्तु कार्यान्वयन भएमा पार्टी फेरि नयाँ ढंगले अघि बढ्ने आधार बनेको बताउँछन्। 

विधान अधिवेशनले पार्टीका सबै निकायमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गराउने निर्णय गरेको छ। ११ जनाको केन्द्रीय कार्यालय र १९९ सदस्यीय केन्द्रीय समिति रहनेछ। अहिले माओवादीमा २२ जना पदाधिकारी छन्। अब पदाधिकारी संख्या आधा हुनेछ।

यो विधान विशेष महाधिवेशनपछि मात्र कार्यान्वयनमा जानेछ। तर, विशेष महाधिवेशनको मिति टुंगो लागेको छैन।

‘कार्यान्वयनमा दृढता देखियो भने केही विषयवस्तुहरु तल फर्कनेगरी निर्णय भएका छन्,’ न्यौपानेले भने, ‘जनवर्गीय संगठन र पार्टी कमिटीहरु प्रतिनिधिहरुको मतबाट निर्वाचित हुने हामीले नीतिगत निर्णय ग¥यौँ।’

‘त्यसो गर्दा नेताहरु कार्यकर्तातिर र कार्यकर्ता जनतातिर जानुपर्ने नीतिगत व्यवस्था भयो,’ उनले थपे, ‘विधानको व्यवस्था कार्यान्वयन नभए विगतका जे समस्या थिए त्यही दोहोरिन्छ।’

केन्द्रीय सदस्य विशाल खड्काले पनि विधान अधिवेशनले पार्टीलाई संगठनात्मक रुपमा विधिमा ढाल्ने काम गरेको बताए। अस्थायी विधान, अस्थायी संरचनाबाट स्थायित्व प्रदान गरेको उनको भनाइ छ। 

‘नेतामुखी पार्टीबाट कार्यकर्तामुखी पार्टी बनायो,’ खड्काले नेपालखबरसँग भने, ‘पहिला नेताको विवेकले पार्टी चल्यो, मूल्याकंन विधि थिएन, अब प्रत्यक्ष चुनावबाट चुनिने भएपछि पार्टी कार्यकर्तातिर फर्कियो।’

शान्तिप्रक्रियामा आएदेखि माओवादी जनतासँग टुटेको कारण जनमत गुम्दै गएको विश्लेषण गरेको उनले बताए। 

नेता न्यौपानेले पार्टी जीवनको इतिहासमा पहिलोचोटि गरिएको विधान अधिवेशनले राम्रै सन्देश दिएको दाबी गरे।

विधानको मसौदा वडा तहदेखि पालिका, जिल्ला, प्रदेश हुँदै धेरै तलसम्म समयमै पठाएर छलफल गरी अधिवेशनसम्म आउँदा छलफल घनीभूत भएकोले कार्यान्वयनमा दबाब पर्ने उनको भनाइ छ।  

‘तर, मसौदा र निर्णय प्रक्रियामा पुग्दा खास धेरै परिवर्तन भएन। खास मेहनत गरेको देखिएन। खास नयाँ व्यवस्था राखेर ल्याएको देखिएन। तल्लो तहदेखि उठाइएका विषयलाई सम्बोधन गर्न नेतृत्वले चाहेन,’ न्यौपानेले भने, ‘विधान बन्ने, कार्यान्वयन नगर्ने र उल्लंघन गर्ने कामको थालनी सबैभन्दा माथि नेतृत्वबाटै गर्ने, यो सनातनी रोगबाट हामी कति मुक्त हुन्छौँ भन्ने विषयवस्तुले हामी तल फर्कन्छौँ कि फर्कंदैनौ भन्ने निर्धारण गर्छ।’

खड्का भने आशावादी देखिए। 

‘कार्यान्वयन नगरी विकल्पै छैन। पार्टीको संविधान नै यही हो, यसलाई नमानेपछि पार्टी नै भएन,’ खड्काले भने। 

नेता न्यौपानेले कतिपय निर्णय भने नेताहरुले आफूलाई हेरेर गरेको बताए।

‘तर, यसका कतिपय निर्णय हाम्रा नेताहरुले अलि बढी आफूलाई हेरेर गरेको देखियो,’ उनले भने, ‘त्यसो गर्दा यो प्रत्यक्ष निर्वाचनबाट कमिटी बनाउने कुरामा पदाधिकारी, स्थायी समिति सदस्यले आँट नगरेको देखियो। म विस्थापित हुन्छु कि भन्ने डर देखियो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .