ad ad

राजनीति


कांग्रेसद्वार शुक्रबार पनि संसद अवरुद्ध

कांग्रेसद्वार शुक्रबार पनि  संसद अवरुद्ध

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ७:४०,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।

बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको हो। कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।

सभामुखले संसदको कामकारबाही सुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सबै सांसद उठेका थिए। त्यसपछि कांग्रेसका सांसद मानबहादुर विश्वकर्मालाई आफ्नो धारणा राख्न सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए।

सांसद विश्वकर्माले अनुसन्धानका क्रममा अख्तियारले आफ्नै अधिकारको दुरुपयोग गरेको आरोप लगाए। ‘अख्तियारले आफ्नै अधिकार दुरुपयोग ग¥यो’, उनले भने।

सांसद विश्वकर्माले निर्दोष विजय गच्छदारलाई पक्रिएर सारा अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च रचिएको आरोप लगाए। उनले भने, ‘सरकारले नियोजित योजनामा अख्तियारले कांग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छायाँ भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरुलाई ठोक्ने कार्य बेठिक छ।’

यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो।

गच्छदारमाथि प्रतिशोध साधेर भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो।

बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिका नाममा बनाएर खरिदबिक्री गर्नेमध्ये १७५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराका नाममा किनेको जग्गा भने फिर्ता दिने सर्तमा मुद्दा नचलाएको भन्दै कांग्रेस असन्तुष्ट छ।

सत्ताको प्रयोगमा अख्तियार परेको कांग्रेसले आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .