राजनीति


अब कसैले डकैती गरेर दुई वर्षमा ब्याजसहित फिर्ता गरे जेल नपठाऔँः शर्मा (भिडियाे)

अब कसैले डकैती गरेर दुई वर्षमा ब्याजसहित फिर्ता गरे जेल नपठाऔँः शर्मा (भिडियाे)

नेपालखबर
माघ २३, २०७६ बिहिबार १३:१,

नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेको स्पस्ट भएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरी अख्यितायरले राज्य शक्ति र नेकपाको प्रभावमा परेर वदनियत रुपमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि बालुवाटार ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा मुद्दा चलाएको बताए।

उनले मन्त्रिपरिषद्ले गरेका निर्णयमा एकजना मन्त्रीलाई मात्र मुद्दा चलाइनुले सरकार आफ्नालाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको बताए। उनले संसदिय प्रणालीमा, प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषदबाट भएका कुनैपनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने भएपनि पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र वावुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै एकजना मन्त्री मन्त्रिपरिषद्को निर्णयको भागिदार हुने कुरा आफैंमा वदनियतपूर्ण रहेको समेत बताए।

उनले नेकपाका वर्तमान महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलका नाममा समेत जग्गा रहेको सिंगो देशलाई जानकारी हुँदा समेत मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा अख्तियार रहेको स्पस्ट हुने समेत बताए। उनले भने, ‘यो कुरा अरु मुलुकले नपढुन किनकी जग्गा फिर्ता गरेपछि मुद्दा नलाग्ने भन्ने नेपालले नयाँ नजिर प्रतिस्थापन गरेको छ।

सबैलाई थाहा थियो की पौडेलका छोरा नवीन पौडेलका नाममा बालुवाटारको जग्गा थियो। फिर्ता दिन्छु भनेपछि मुद्दा नलाग्ने कानून पनि कहिं हुन्छ त्यसो भने त कसैले डकैती ग-यो र दुई वर्षपछि ब्याजसहित पैसा फिर्ता दिन्छु भन्यो भने जेल पठाउनु परेन।’ उनले भक्तपुरमा मजदुरी गर्दै आएकी महोत्तरीकी तिलकुमारी खड्का यस्तै केसमा जेल जानुपरेको उल्लेख गर्दै सत्तामा रहेको पार्टीको कुनै एक नेताको छोरालाई कानून नलाग्ने विषय सामान्य नभई गम्भीर भएको बताए।

प्रवक्ता शर्माले बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको बैठकले उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियारले दर्ता गरेको मुद्दा पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित भएको ठहर गरेको समेत बताए। उनले नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरण राम्रोसँग गम्भीर भएर अनुसन्धान गरी दोषिलाई कारबाही गर्न माग राख्दै आएको तर बदनियत रुपमा आएका विषयलाई नमान्ने बताए।

उनले अख्तियारले गहिरो तथ्यमा आधारित भएर अनुसन्धान गरे कांग्रेसले सघाउन तयार रहेको समेत बताए। उनले नेपाली कांग्रेसको नेताको मुद्दाको विषय मात्र नभएर एउटै निर्णयमा प्रधानमन्त्रीले उन्मुक्ती पाउने र एकजना मन्त्रीले कारबाही पाउने तथ्यको खोजि गर्नु स्वभाविक भएको बताए। उनले अदालतमा मुद्दा दायर भएपछि उपसभापति गच्छदारले अदालतको सम्मान गर्दै कानूनी रुपमा पनि सामना गर्ने र कांग्रेस पार्टी पनि कानूनी प्रकृया पालना गर्ने भन्दा बाहिर नजाने बताए।

उनले बालुवाटार जग्गा प्रकरणको गहिरो अनुसन्धानात्मक छानविनको पक्षमा कांग्रेस रहेको बताए। यसबाहेक अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धानको पक्षमा समेत कांग्रेस रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad